प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन ढिलाई गरेपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आक्रमक हुन थालेका छन् ।
चोरबाटोबाट ल्याएको अध्यादेश पार्टीमा स्वंय ओलीको उपस्थितिमै फिर्ता लिने निर्णय भएको भएपनि निर्णय कार्यान्वयनमा आलटाल गरेको भन्दै प्रचण्ड–नेपाल पक्षका नेताहरु आक्रमक हुन थालेका हुन् ।
नेकपाभित्रको विवादकै कारण संवैधानिक परिषद् बैठक नै अवरुद्ध भएपछि प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनुभएको थियो ।
अध्यादेश ल्याइएपछि प्रतिपक्षी दल नेपाली काँग्रेससहित नेकपाभित्रै बाट ओलीको चर्को आलोचना भएको थियो । त्यसपछि पौष १ गते बालुवाटारमा बसेको स्थायी कमिटी बैठले उक्त अध्यादेश फिर्ता लिने संस्थागत निर्णय गरेको थियो ।
तर निर्णय भएको तीन दिन बितिसक्दा समेत प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ताको कुनै प्रक्रिया सुरु नगरेको भन्दै प्रचण्ड–नेपाल पक्षका नेताहरु आक्रमक रुपमा प्रस्तुत हुन थालेका हुन् । ओलीले अध्यादेश फिर्ता नगरे थप कदम चाल्ने समेत प्रचण्ड–नेपाल समूहले चेतानवी दिएको छ ।
अध्यादेश फिर्ता गर्न ढिलाई हुनुले आशंका उब्जिएको स्थायी कमिटी सदस्य युवराज ज्ञवाली बताउनुहुन्छ । हिजोको मन्त्रिपरिषद् बैठकबाटै सो अध्यादेश फिर्ता हुनुपर्ने भन्दै अझै केही समय कुर्ने र त्यसपछि पनि प्रधानमन्त्री ओलीले आलटाल नै गरे त्यही अनुसार आफूहरु पनि अघि बढ्ने नेता ज्ञवालीले बताउनुभयो ।
प्रचण्ड–नेपाल पक्षले आशंका व्यक्त गर्दै गर्दा प्रधानन्त्री ओली पक्षका नेताहरु पनि आक्रोशित भएका छन् । आफूले केही नगर्ने र सरकारले काम गर्न खोज्दा पनि बाधक बनेको ओली पक्षको आरोप छ ।
नेकपामा जारी विवादमा अहिले स्थायी कमिटीमा पुगेको छ । विवादकै बीच प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि थप उत्कर्षमा पुगेको अन्तरविरोध उक्त अध्यादेश फिर्ता लिने निर्णयसँगै केही मत्थर भने भएको थियो ।
तर, मन्त्रिपरिषदलाई समेत सुइँको नदिई अचानक ल्याइएको अध्यादेश फिर्ता लिन ढिलाई हुँदा नेताहरुमा थप आशंका उब्जिएको छ । चौतर्फी विरोध भएपछि अध्यादेश ल्याएको २४ घण्टा पनि नबित्दै प्रधानमन्त्री ओली फिर्ता लिन सहमत हुनुभएको थियो ।