काठमाडौं । संवैधानिक परिषद्सम्बन्धि सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएपनि सुनुवाइ नहुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलाशमा मुद्दाको पेशी तोकिए पनि रिटलाई ‘हेर्न नभ्याइने’मा राखेको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार, मन्त्रिपरिषद्, राष्ट्रपतिको कार्यालयसहित नौं जनाविरुद्ध सर्वोच्चमा रिट हाल्नुभएको थियो । यसै मुद्दामा अरु दुईवटा मुद्दा पनि परेका छन् ।
रिटमा संवैधानिक परिषद्का अध्यक्ष, संवैधानिक परिषद्को सचिवालय, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेतालाई विपक्षी बनाइएको छ ।
रिटमा संविधानसँग बाझिएको अध्यादेश अमान्य र बदर घोषित गरी उत्प्रेषण, प्रतिषेधलगायतका उपर्युक्त आदेश जारी गर्न माग गरिएको छ ।
यस्तै, सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दा आज पेशीमा चढे पनि सुनुवाइ भने नहुने भएको छ ।
प्रधानन्यायाधीश राणा तथा न्यायाधीशहरू कार्की, खड्का, कार्की र श्रेष्ठको संवैधानिक इजलासमा सभामुख सापकोटाविरुद्धको मुद्दा पेशी चढे पनि आज ’हेर्न नभ्याइने’ सर्वोच्चले उल्लेख गरेको छ ।
लामो समयदेखि सर्दै आएको मुद्दाको पेशी आजका लागि तोकिएको थियो । द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा मृतककी श्रीमती पूर्णिमाया लामाले हालेको रिट सर्वोच्चमा विचाराधीन छ ।