काठमाडौं । सत्तारुढ दल नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पदबाट राजिनामा नदिने अडान राख्नु भएको छ । संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिन दवाव दिएपनि आफुले राजिनामा नदिने उहाँले स्पष्ट पार्नु भएको हो ।
“मेरो नियुक्ति पार्टीको सहमती र निर्णय अनुसार भएको हो, राजिनामा माग्दा पनि पार्टीको सहमती र निर्णयबाट माग्नु पर्दछ, अनि मात्र दिन्छु, नत्र दिन मिल्दैन,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो । कुनै व्यक्तिले नियुक्त गर्ने विषय नभएकाले व्यक्तिले राजिनामा मागेर नहुने उहाँको भनाई थियो ।
पार्टीमा र सरकारमा भइरहेका गलत कृयाकलापका बारेमा बोल्दैमा राजिनामा माग्ने कुरा गलत भएको उहाँले तर्क गर्नुभयो ।
“पार्टीभन्दा बाहिर गएर गरिने सवै गतिविधिको विरोध गरिन्छ, त्यही गर्दा राजिनामा मागिएको हो भने त्यो स्विकार्य हुदैन,” उहाँले भन्नुभयो ।
नेकपा प्रमुख सचेतक गुरुङले कुनै व्यक्ति विषेशको बारेमा टिप्पणी नगरेको दावी गर्दै पदिय वा संस्थागत विषयमा प्रश्न उठाउनै नपाइएने भन्ने लोकतन्त्रमा नहुने बताउनुभयो ।
नेता गुरुङले भन्नुभयो, “पार्टी र सरकारमा जे हुनुपर्छ सवै पार्टीको छललफ र परामर्शबाट मात्रै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, प्रधानमन्त्रीले काम गर्ने हो, तर निर्णय पार्टीसँगको परामर्श, पार्टीको नीति र भावना अनुसार हुनुपुर्छ ।”