एजेन्सी । इरानमा पत्रकारलाई मृत्युदण्ड दिएलगत्तै चार वटा युरोपेली देशले इरानमा सञ्चालन गरिरहेको अनलाइन व्यापार फोरममा सहभागी नहुने जनाएका छन् । आज हुने भनिएको उक्त कार्यक्रम फ्रान्स, इटाली, जर्मनी र अष्ट्रियाका राजदूतहरुले बहिस्कार गर्ने बिबिसीले जनाएको छ ।
इरानी पत्रकार रुहल्लाह जामको हत्यापछि इरान र युरोपेली देशहरुबीच कुटनीतिक सम्बन्ध चिसिएको छ । सन् २०१७ मा इरानमा भएको वृहत प्रदर्शनको भिडियो अनलाइनमा राखेसँगै जामले फ्रान्समा शरण लिएका थिए ।
उनलाई शनिबार मात्र फाँसी दिइएको थियो । इरानको उक्त कदमको सर्वत्र विरोध भइरहेको छ । युरोपियन युनियन, संयुक्त राष्ट्रसंघलगायत विभिन्न दातृ निकायले इरानको उक्त कदमको कडा आलोचना गरेका छन् ।
अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए ।
अल जजिराले सम्प्रेषण गरेको समाचार अनुसार इरानले सन् २०१९ मा पत्रकार जामलाई गिरफ्तार गरेको थियो । इरानी सर्वोच्च अदालतले फैसला सुनाएको चार दिनपछि पत्रकार जामलाई मृत्युदण्ड दिइएको थियो ।
इरानको राज्य नियन्त्रित समाचार संस्था इर्नाका अनुसार पत्रकार जामलाई शनिबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । पत्रकार जामलाई मृत्युदण्ड दिइनु मानव अधिकारको ठाडो उल्लंघन भएको जनाउँदै रिपोर्टर्स विदाउट बोर्डर्सले आपत्ति जनाएको छ ।