धनगढी । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूसँग चुनाव लड्न चुनौती दिनुभएको छ । धनगढीमा आयोजित सरकारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपतिको राजनीतिक सक्रियताको आलोचना गर्नुभएको हो ।
नेकपा विवादमा सक्रिय भएर पछिल्लो समय राष्ट्रपति भण्डारी श्री ५ बडामहारानी बन्न खोजेको नेता थापाको आरोप छ ।
‘यदि तपाईँ श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्’, उहाँले भन्नुभयो, ‘हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबस्योस् ।’
आफ्नो पार्टी कांग्रेसले राजालाई पनि फालेकाले राष्ट्रपति पनि फाल्नु कुनै ठूलो विषय नभएको नेता थापाको दाबी छ । ‘राजालाई त फाल्यो राष्ट्रपतिलाई पनि फाल्न सक्छौँ, उहाँले भन्नुभयो ।
नेता थापाले कांग्रेस यसअघि सरकारमा नआउनुको कारणबारे स्पष्ट पार्दै भन्नुभयो, ‘कांग्रेस नसकेर सरकार सडकमा नआएको होइन, कोरोना संक्रमण नियन्त्रण गर्न सरकारलाई सघाउन र जिम्मेबार बन्नका लागि सहयोगी भूमिका गरेको हो ।’
कांग्रेसले सहयोग गर्न खोजे पनि बालुवाटरमा लुकेर षड्यन्त्र मात्रै गरेकोले सरकारलाई खवरदारी गर्न कांग्रेस सडकमा ओर्लिएको उहाँको भनाइ छ । सरकारलाई ठिक ठाउँमा जान बाध्य नपार्दासम्म कांग्रेसले विश्राम नलिने पनि उहाँले ठोकुवा गर्नुभयो ।
नेकपा सरकार शक्तिशाली भए पनि जनतालाई शक्तिशाली बनाउन नसकिरहेको उहाँले टिप्पणी गर्नुभयो ।
‘नेकपाको सरकारले तत्काल चाहिएको र तत्काल पूरा हुने कुरा गर्दैन, तर कहिल्यै पूरा नहुने हावा कुरा मात्रै गर्छ’, नेता थापाले भन्नुभयो ।
कहिल्यै भ्रष्टाचार गर्दिन भन्दै सरकार बालुवाटारको जग्गा, ओम्नी, यतिहँुदै ७० करोडसम्मका दर्जनौ काण्डको साथी र मतियार बनेको उहाँले दाबी गर्नुभयो ।
तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा भन्दै ७७ वटै जिल्लामा कांग्रेसले प्रदर्शन सुरु गरेको छ ।