Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सरकारविरुद्ध आज देशभरी काँग्रेसको प्रदर्शन, जिल्ला-जिल्लामा खटिए केन्द्रीय नेता

सरकारविरुद्ध आज देशभरी काँग्रेसको प्रदर्शन, जिल्ला-जिल्लामा खटिए केन्द्रीय नेता

  • सोमवार, मंसिर २९ २०७७

  • 1.3K
    SHARES

  • सरकारविरुद्ध आज देशभरी काँग्रेसको प्रदर्शन, जिल्ला-जिल्लामा खटिए केन्द्रीय नेता

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध आज सवै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्न लागेको छ । प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउंदै आएको भएपनि त्यसलाई सरकारले कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेकोले प्रदर्शनको आयोजना गर्नु परेको पार्टी सभापति शेर बहादुर देउवाले बताउनु भएको छ ।

    विज्ञप्ती जारी गर्दै उहाँले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा सरकारले आफुलाई केन्द्रित गर्दै लगेको आरोप पनि लगाउनु भएको छ ।

    ‘नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । सोमबारको प्रदर्शन त्यसकै सांकेतिक स्वरुप हो’ सभापति देउवाले भन्नु भएको छ ।

    त्यसैगरी, जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना, शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने र जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने अधिनायकवादी आकांक्षाको विरोधमा काँग्रेसले प्रदर्शन गर्न लागेको उहाँले उल्लेख गर्नुभएको छ ।

    “महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँनु, कोरोनाका कारण हजारौं युवा थप बेरोजगार हुँदा र लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ?” सभापति देउवाले विज्ञप्तीमा प्रश्न गर्नुभएको छ ।

    मुलुक चौतर्फी संकटबाट रहेकाले तत्काल निकासको मार्गमा लैजान गम्भीर भएर कार्य गर्नुपर्ने बेलामा सरकार सत्ताको द्वन्द्वमा जकडिएकाले दवावका लागि काँग्रेस सडकमा आउनु परेको उहाँले स्पष्ट पार्नु भएको छ ।

    दशैभर खटिए केन्द्रीय नेता

    दशैभरी हुने प्रदर्शनका लागि केन्द्रीय नेताहरु पनि जिल्ला जिल्लामा खटाइएको छ । सभापति देउवा र प्रवक्ता विश्वप्रकाश शर्मा हटौडा जानु हुने भएको छ भने बरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौमा उपसभापति विमलेन्द्र निधि भक्तपुरमा र कोषाध्यक्ष सीतादेवी यादव ललितपुरमा आयोजना हुने विरोध सभालाई सम्वोधन गर्नुहुने भएको छ ।

    त्यसैगरी महामन्त्री डा शशांक कोइराला मोरङमा र पुर्व महामन्त्री प्रकाशमान सिंह धनुषामा खटिएपनि अर्का पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला भने कोरोनाभाइरसबाट सङ्क्रमित भएकाले होम आइसोलेसनमा हुनुहुन्छ ।

    प्रभावशाली केन्द्रीय सदस्यहरु मध्ये अर्जुन नरसिंह केसी पोखरा, डा. रामशरण महत, चितवन, गोपालमान श्रेष्ठ काभ्रे, गगनकुमार थापा कैलाली, डा चन्द्र भण्डारी नुवाकोट, प्रदिप पौडेल कन्चनपुर, सुरेन्द्र पाण्डे रुपन्देही, पुष्पा भुसाल अर्घाखाँची, जीवन परियार गुल्मी, धनराज गुरुङ स्याङ्जा र नैनसिंह महर दोलखामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन लाग्नु भएको छ ।

    विरोध सभामा सहभागीताका लागि अधिकांश नेताहरु हिजो नै संवन्धीत जिल्लामा पुगिसकेका छन भने केही नेताहरु अहिले जादैछन् । सवै जिल्लामा कुनै निश्चित ठाउँमा विरोध सभाको आयोजना गरिएको छ भने विरोध सभा भन्दा अगाडि उनीहरुले विरोध र्याली समेत निकाल्न लागेका छन् ।

    कार्यक्रममा सहभागीताका लागि काँग्रेसका नेता कार्यकर्ता गाउँगाउँबाट कार्यक्रम स्थलमा आउदैछन् ।

    कार्यक्रमका लागि नारा पनि तोकियो

    विरोध कार्यक्रमका लागि कांग्रेसले विभिन्न १० वटा नारा पनि तय गरेको छ । ती नाराहरु निम्नानुसार रहेका छन् ।

    १, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल – जिन्दावाद जिन्दावाद
    २, नेपाली कांग्रेस –जिन्दावाद जिन्दावाद
    ३, सर्वसत्तावादी ओली सरकार – मुर्दावाद मुर्दावाद
    ४, तनहुँमा भएको दुर्व्यवहार – अपमान र अत्याचार
    ५, बढ्यो महिला हिंसा र बलात्कार – अकर्मण्य भो ओली सरकार
    ६, चारैतिर भ्रष्टाचार – जनताले चिन्यो ओली सरकार
    ७, अति भो अति भो – मुलुककै छवि क्षति भो
    ८, जनता कोरोनाको मारमा – नेकपा सत्ताको जितहारमा
    ९, औषधि छैन, मल छैन – सत्ताको लडाई लाज छैन ?
    १०, नेपाली कांग्रेस जिन्दावाद – लोकतान्त्रिक समाजवाद जिन्दावाद


    सोमवार, मंसिर २९ २०७७०८:१३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij