काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठक केहीबेरअघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
गत मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । बैठकमा शोक प्रस्ताव पेश हुनेछ । नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।
पूर्वसांसद लामाको गत मंसिर २४ गते राति कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो । बैठकको अर्को मिति भने शोक प्रस्ताव पारित भएपछि तय हुनेछ । पार्टीका एक नेताका अनुसार, शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूची तर्फ अघि नबढाउने प्रचलन छ ।
संसद र पार्टी कमिटीहरुमा हुँदै आएको प्रचलनअनुसार, आजको बैठक शोक प्रस्ताव पारित भएसँगै स्थगित हुनेछ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठकमा आरोप–प्रत्यारोप पत्रको दोहोरी नै चलेपछि पार्टी विवाद स्थायी कमिटीमा पुगेको छ ।
आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागि हुने बताइएको छ । ओली बैठकमा आउने क्रममा रहेको नेकपा स्रोतले जनाएको छ । यसअघि गत मंसिर २१ गते बसेको बैठकमा ओलीको सहभागिता थिएन ।