काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा भित्रको झगडा देश र जनताको लागि नभएको टिप्पणी गर्नुभएको छ । आफुलाई केन्द्रमा राखेर नेताहरुका बीचमा झगडा भएको आरोप लगाउदै उहाँले कम्युनिष्ट पार्टीमा यस्तो विवाद नहुने दावी गर्नुभयो ।
कम्युनिष्ट पार्टीमा देश र जनताको विषयमा वा सैद्धान्तीक विषयमा विवाद हुने तर भागबण्डा र लेनदेनका लागि छलफल नै नहुने उहाँको भनाई छ । “कम्युनिष्ट नाम राख्दैमा कम्युनिष्ट हुन सकिदैन र अहिलेको नेकपा नाम मात्रको कम्युनिष्ट हो,” नेपाली नेटवर्कसँग उहाँले भन्नुभयो ।
नेकपा विप्लबले गरेको हिंसाको विरोध गर्दै उहाँले कम्युनिष्टका नाममा व्यक्ति हत्या र युद्ध हुने गरेकाले कम्युनिष्टहरुको बदनामी भएको दुखेसो पोख्नुभयो ।
तत्कालिन नेकपा माओवादीको जनयुद्ध र व्यक्ति हत्याको पनि आफुहरुले त्यतिबेला देखि नै विरोध गर्दै आएको बताउदै उहाँले प्रश्न गर्नुभयो, “त्यत्रो जनयुद्ध गरेर, त्यति धेरै मानिसको हत्या गरेर आखिर देशले के पायो खै ?”
जनताका नाममा जे जे गरेपनि मौका पाउँदा कम्युनिष्टहरुले झन धेरै दुरुपयोग गर्दा रहेछन, झन धेरै स्वार्थी हुँदा रहेछन भन्ने पटक पटक पुष्टि भएको उहाँको बुझाई छ ।