काठमाडौँ – विश्वभर अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइरहँदा नेपालमा एक जना शिक्षकको बर्बर हत्या भएको घटनाले नयाँ सामाजिक संशय पैदा गरेको छ। सुराकी गरेको आरोपमा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मोरङका एकजना शिक्षक राजेन्द्र कुमार श्रेष्ठको हत्या गरेपछि हिंसात्मक राजनीतिले फेरि आकार लिन थालेको भन्दै त्रास फैलिएको हो ।
पटक–पटक हिंसाको बाटो छाडेर शान्तिपूर्ण राजनीतिमा आउन गरेको आग्रह लत्याउँदै विप्लव समूहले व्यक्ति हत्याको बाटो रोजेपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले शिक्षक हत्या घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
राजनीतिका नाममा हिजोदेखि आजसम्म भएका सबैखाले हिंसात्मक घटना गलत भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । आज बसेको कांग्रेस पदाधिकारीको बैठकले प्रधानाध्यापक श्रेष्ठको हत्या घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको शर्माले बताउनुभयो ।
हिंसात्मक आन्दोलन त्यागेर शान्तिपूर्ण राजनीतिको बाटोमा अघि बढेका तत्कालीन माओवादीका नेताहरुले पनि आफ्नै पूर्व सहपाठी विप्लव समूहबाट भएको पछिल्लो हत्या घटनाको कडा निन्दा गरेका छन् । हाल सत्तारुढ नेकपामा रहनुभएका नेता दिनानाथ शर्माले प्रधानाध्यापक श्रेष्ठको हत्या घटनामा संलग्न जो सुकैलाई कडा कानुनी कारबाहीको माग गर्नुभयो । नेपाली रेडियो नेटवर्कमार्फत उहाँले विप्लव समूहलाई हिंसाको मार्ग त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्नुभयो ।
विप्लव समूहलाई हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन राज्यबाट समेत पटक– आग्रह नभएको होइन । तर सरकारको आग्रहलाई विप्लव समूहले टेरपुच्छर लगाएको छैन । विप्लव समूहको ठाडो अस्वीकारका कारण वार्ताका लागि पटक–पटक भएका प्रयासहरु पनि निरर्थक भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्दा समेत विप्लव समूहले हिंसाकै बाटो रोजीरहेको बताउनभुयो । उहाँले वर्तमान सरकारले हिंसा भड्काएर राजनीतिक अस्थिरता श्रृजना गर्न खोज्ने शक्तिलाई परास्त गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
सरकारद्वारा प्रतिवन्धित विप्लव समूहले सुराकी गरेको आरोपमा प्रधानाध्यापक समेत रहेका श्रेष्ठको हत्याको जिम्मेबारी विज्ञप्ति जारी गरेर लिएको भए पनि सरकारले भने चन्दा नदिँदा बर्बर हत्या भएको दाबी गरेको छ ।
यता शिक्षक हत्या भएको घटना नसेलाउँदै विप्लव समूहले कालिकोटमा जनसरकार गठन गरेर सरकारलाई अर्काे चुनौती थपेको छ । तर विप्लव समूहले हत्या क्रान्ति नभई मानवताविरुद्धको जघन्य अपराध रहेको कुरा सर्वदा स्वीकार गरेर आफूलाई शान्तिको मार्गमा डो¥याउनुको विकल्प छैन । मुलुक हिंसा होइन शान्ति चाहन्छ भन्ने कुरा विप्लवले बुझ्नैपर्छ ।