काठमाडौं । क्यानडाले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोना भाइरस विरुद्धको खोप नागरिकमा लगाउने गरी स्वीकृति दिएको छ ।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानडा सरकारले यस फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा व्यापक मात्रामा खोजी र अनुसन्धान गरेको र त्यसपछि यो खोप लगाउन सुरक्षित देखिएको भन्दै खोप सिफारिस गरेको हो ।
अर्को हप्तादेखि क्यानडामा याे खोप लगाइने भएको छ । समाचारमा जनाइएअनुसार यहाँका स्वास्थ्य अधिकारीहरुले अर्को हप्तासम्ममा क्यानडामा यो खोप आइपुग्ने र नागरिकलाई लगाउन थालिने जनाएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्को हप्तासम्ममा यो खोप क्यानडामा आइपुग्ने जानकारी दिनुभयो ।
उहाँले खोपको प्रभावकारिताको अनुसन्धान भएको र क्यानडाका १४ वटा वितरक कम्पनीहरुले खोप यहाँ ल्याएर वितरण गर्ने बताउनुभयो । पछिल्लो समयमा झन् कोरोनाबाट अति प्रभावित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि नै कोरोना विरुद्धको खोप लगाउने भएको यसअघि नै बताएको थियो । करिब एक हप्ता पहिले नै फाइजर बायोएनटेक खोपको बेलायती नियामक निकायले अनुमति दिएको थियो । बेलायती कम्पनीहरुले यो खोप वितरण गरिसकेका छन् र नागरिकले पनि लगाउन थालेका छन् ।
त्यस्तै फ्रान्समा भने लकडाउन नै रहेको छ । यहाँका नागरिकको माग भए पनि लकडाउन खोल्न सरकार तयार भएको छैन । त्यसैले यहाँको सरकारले भने यस खोपका बारेमा कुनै निर्णय गरेको छैन । इङ्ग्ल्याण्ड, वेल्स तथा स्कटल्याण्डमा कोरोना विरुद्धको खोप सुरु भएको जानकारी बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । सबै अस्पतालमा राम्रो र उच्च क्षमतामा फ्रिज नहुदा समस्या हुनसक्ने बताइएको छ ।
यहाँका मिडियाले करिब आठ लाख डोज खोप बेल्जियमबाट बेलायत पुगेको बताइएका छन् । बेलायतमा चाँडै नै यो खोप प्रयोग गर्ने विषयमा विभिन्न प्रश्न उठेको भए पनि बेलायत सरकारले खोप प्रयोग गर्ने नागरिकको सुक्ष्म निरीक्षण गरेर खोप सुरु गर्ने जानकारी गएकाे हप्ता नै दिएको हो ।
विश्व स्वास्थ्य संगठनले भने जसलाई खोप आवश्यक पर्छ, उसलाई मात्रै प्रयोग गर्न भनेको छ । अहिल्यै सबैलाई खोप दिनु जरुरी नभएको उसको भनाइ छ । यो खोपका लागि विश्वका विभिन्न देशले खरिद अनुमति दिएका छन् । यो खोप क्यानडाले ३६ करोड, बेलायतले ३६ करोड इन्डोनेसियाले ३५ करोड, जापानले २९ करोड र ब्राजिलले १९ करोड डोजको भ्याक्सिनका लागि पहिले नै खरिदको अनुमति दिएका छन् ।
संसारभरमा अहिलेसम्म ६ करोडभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये १५ लाखभन्दा बढीको ज्यान गइसकेको छ । यो भाइरसबाट अमेरिकामा मात्रै संक्रमितको संख्या डेढ करोडभन्दा पनि बढी देखिएको छ । यहाँ २ लाख ९० हजारको ज्यान गएको छ ।