काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्ने बताउनुभएको छ । उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि मुद्दा चलेको बताउँदै ओलीले यसबाट भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता प्रमाणित हुने उल्लेख पनि गर्नुभएको छ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्दछ । उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि यस वर्ष मुद्दा चलेका छन् । भ्रष्टाचार विरुद्धको हाम्रो शून्य सहनशीलतालाई यसले प्रमाणित गर्दछ ।’
ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै हुने भन्दै क्षम्य नहुने कुरामा सरकार स्पष्ट रहेको उल्लेख गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत दुई आर्थिक वर्षमा ७९२ भ्रष्टाचारका मुद्दा चलाएको र हाल पनि करिब ८ हजार उजुरी उपर अनुसन्धान भइरहेको उल्लेख गर्दै ओलीले नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिएको र भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हदसम्म ओरालो लागेको दाबी गर्नुभएको छ ।
भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता हो भन्दै ओलीले यसका लागि सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्रलगायत सबैको सहयोग र सहकार्य आवश्यक पर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता नै भ्रष्टाचार हुन नदिनु हो भन्दै गर्दा केही हप्ताअघि ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनमा नेपाल एसियाकै सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा परेको थियो । त्यसको सरकार र भ्रष्टाचार नियामक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विरोध गरेका थिए ।