काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई व्यक्ति हत्या रोक्न आग्रह गर्नु भएको छ । मोरङको मिक्लाजुङ १ बर्खेमा हिजो मारिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएपछि डा. भण्डारीले हत्या रोक्न आग्रह गर्नु भएको हो ।
उहाँले सामाजिक संजाल फेसबुक मार्फत व्यक्ति हत्यालाई प्राथमिकता दिँदै आएको कम्युनिष्ट चलन बन्द गरिनु पर्नेमा पनि जोड दिनुभएको छ । विप्लवका मेची कोशी इन्चार्ज प्रतापले हिजो बेलुका प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीका नेता कार्यकर्तालाई पक्राउ गराउन प्रहरी लगाउने, दुःख दिने दिने जस्ता ज्यादति शिक्षक श्रेष्ठले गरेकाले हत्या गरेको जनाएका थिए ।
डा. भण्डारीले विप्लवलाई सम्वोधन गर्दै भन्नु भएको छ, ‘बिप्लव जी, अहिलेसम्म नेपालमा कम्युनिष्ट पार्टीहरुले शुरु गरेका परिवर्तनका आन्दोलन ब्यक्ति हत्याबाट शुरु भएका छन । त्यसको पहिलो शिकार शिक्षक र सामान्य किसान परेका थिए । आरोप के त ‘सुराकी’ ।’ पुनः विप्लवको आन्दोलनको पहिलो शिकार पनि सामान्य शिक्षक राजेन्द्र कुमार श्रेष्ठ ।’
नेता भण्डारीले विगतमा कम्युनिष्टको नाममा गरिएको युद्धको कमीकमजोरीको समीक्षा गर्न विप्लवलाई सुझाव दिनु भएको छ ।
उहाँले लेख्नु भएको छ, ‘विगतका पीडा रुखमा बाँधेर मारिएका शिक्षकको, किरियापुत्रीको हत्या, परिवारका सामु गरिएका हत्या, मौंलामा हत्याको लागि बाँधेर उनको श्रीमतीलाई देखाएर गरिएका बलात्कार । विप्लव जी व्यक्ति हत्या रोक्नु नै पर्दछ । जुन विगतमा धेरै नै पीडादायक बनेको छ ।’