काठमाडौं । सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गर्नुभएको हो ।
संविधान जारी भएर नयाँ सरकार बनेको अवस्थामा मुलुक स्थिरतातर्फ गइरहेको कुरालाई समेट्नुपर्ने भएकाले परराष्ट्र नीति ल्याएको मन्त्री ज्ञवालीले बताउनुभयो ।
परराष्ट्र नीतिका चुनौतीमा अन्तर्राष्ट्रिय सीमा सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग राष्ट्रहितमा छ कि छैन भन्ने दृष्टिकोण र आर्थिक कूटनीति रहेको ज्ञवालीले बताउनुभयो ।
शान्तिप्रक्रिया सफलतापूर्वक सम्पन्न गर्नु, सबै मुलुकसँग कूटनीतिक सम्बन्ध राम्रो हुनु नेपाली कूटनीतिका राम्रा पक्ष रहेको र तिनै कुरा परराष्ट्र नीतिमा समेटिएको मन्त्री ज्ञवालीले स्पष्ट पार्नुभयो ।
परराष्ट्र नीतिमा संस्थागत संरचनाको सुदृढीकरण कसरी गर्ने भन्ने रणनीति तय गरिनुका साथै दुईपक्षीय र बहुपक्षीय आर्थिक रणनीति तय गर्ने विषय पनि समेटिएको उहाँले जानकारी दिनुभएको छ ।