काठमाडौं । लामो समयदेखि विवादमा परेको सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठक आज बस्न लागेको छ । पार्टी भित्रको विवाद समाधानका लागि दुई अध्यक्ष र सचिवालयले नसकेपछि स्थायी कमिटिलाई गुहार्नु परेको हो । दुवै अध्यक्षले सचिवालयमा पेस गरेको विवादित प्रतिवेदनहरुलाई बैठकमा प्रस्तुत गरी छलफल गरिने भएको छ ।
स्थायी कमिटिको बैठक तत्काल आवश्यक नभएको दावी गर्दै आउनु भएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा अनुपस्थीत हुने संभावना धेरै रहेको छ । उहाँले दुवै प्रतिवेदनलाई स्थायी कमिटिमा लैजान नहुने र सचिवालयबाटै सहमति खोज्नु पर्नेमा जोड दिएकाले स्थायी कमिटिमा उपस्थीत हुने संभावना कम देखिएको हो ।
उहाँले दुवै प्रतिवेदनलाई फिर्ता गरेर संयुक्त प्रतिवेदन बनाउनु पर्नेमा जोड दिदै आउनु भएको थियो । उहाँको भनाई विपरित भएकाले बैठकमा उहाँको उपस्थीति अनिश्चित भएको छ । गत १७ गते बसेको सचिवालय बैठकमा अनुपस्थीत हुनु भएका अध्यक्ष ओली हिजोको सचिवालय बैठकमा भने उपस्थीत हुनु भएको थियो ।
ओली यसअघि बोलाइएको स्थायी कमिटिको बैठकमा पनि केही दिन अनुपस्थीत भएपछि बैठक लामो समय अन्यौलमा परेको थियो । अहिले पनि ओलीले आफ्नो चाहना विपरित बोलाइएको स्थायी कमिटि बैठकमा अनुपस्थीत भएर औचित्यहिन बनाइदिने संभावना रहेको नेताहरुले बताएका छन् ।
एक–अर्काप्रति गम्भीर आरोप–प्रत्यारोप गर्दै छुट्टा छुट्टै राजनीतिक प्रस्ताव पेस गरेका अध्यक्षद्धय ओली र प्रचण्ड पक्षका बीचमा दिनप्रति दिन विवाद थप चर्किदै गएको छ । दुवै पक्ष आ आफ्ना अडानमा रहेको र एक अर्काप्रतिको आरोप प्रत्यारो बढ्दै गएकाले अझै केही समय नेकपा यस्तै बन्धक अवस्थामै रहने देखिएको छ ।