काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति उहाँ निकटका नेताहरुले नै चरम असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वमाओवादी नेताहरुले नै प्रचण्डको सचिवालयबाट कमजोरी भइरहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पूर्व माओवादी नेता हरिबोल गजुरेलले आफ्ना बारेमा गलत प्रचार गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । “म सभामुख बन्न अस्विकार गरेको मान्छे मन्त्री बन्नका लागि दौडधुप गर्ने कुरै हुदैन, तर प्रचण्डको हेडक्वाटरले मन्त्री बन्न ओलीको पछि लाग्यो भनेर प्रचार गरेछ,” उहाँले भन्नुभयो ।
यस्तै व्यवहार र शैलीका कारण अध्यक्ष प्रचण्ड कमजोर बन्दै गइरहेको नेता गजुरेलको ठम्याई छ । उहाँले थप्नुभयो, “प्रचण्डको हेडक्वाटरका मान्छेहरु तथ्यकत कुरा नगर्ने, मनोगत कुरा गर्ने गर्छन, त्यही भएर प्रचण्ड कमजोर हुदै जानु भएको हो ।”
मध्यमार्गी भूमिका खेलेर दुवै पक्षका नेताहरुलाई मिलाउन र कमी कमजोरी बताउन गएको विषयलाई मन्त्री बन्न गयो भनेर तलसम्म प्रचार गरिएको उहाँको गुनासो थियो । नेता गजुरेलले एक अर्काप्रतिको आरोप प्रत्यारोप प्रतिवेदन भएकाले दुवै अध्यक्षको प्रतिवेदन आफुले नपढेको पनि बताउनुभयो ।
उहाँहरुले के लेख्नुभयो भन्ने कुरा अव कसैले नपत्याउने भएकाले पढ्नु आवश्यक नरहेको नेता गजुरेलको भनाई थियो । तपाईहरुको लेखेको र बोलेको कुरामा अव जनता र कार्यकर्ताले विश्वास गर्न छाडिसके त्यसैले बोलेको/लेखेको कुरा व्यवहारबाट देखाउनुस् भनेर दुवै अध्यक्षलाई भेटेर आफुले सुझाव दिएको पनि उहाँले जानकारी दिनुभयो ।
“दुई बर्ष अगाडि भनेका, लेखेका कुरा अहिलेसम्म कार्यान्वयन नभएकाले जनताले अव बोलेर पत्याउनेवाला छैनन, त्यसैले व्यवहारबाट जवाफ दिनुस् भनेर मैले उहाँहरुलाई भेटेर भनेको छु,” पूर्व मन्त्री गजुरेलले भन्नुभयो । दुई अध्यक्ष र सचिवालयले समस्याको समाधान गर्न नसकेकाले विवाद स्थायी कमिटिमा जानु स्वभाविक भएको भन्दै उहाँले काम गर्न नसक्ने सचिवालय खारेज गर्न आफुले धेरै पहिला नै सुझाव दिएको बताउनुभयो ।
स्थायी कमिटि र केन्द्रीय कमिटिले गरेका निर्णय कार्यान्वयन गराउनु पर्ने र व्यवस्थापिय कार्य गर्नुपर्ने सचिवालयले नीतिगत निर्णय गर्न थालेपछि नै विग्रिएको उहाँको टिप्पणी थियो । “सचिवालयले नीतिगत निर्णय लिने व्यवस्था नै बेठिक हो, सचिवालयले नीतिगत निर्णय गर्न खोज्दा अन्य संरचना ओझेलमा परे, विवाद बढ्ने ठाउँ थपियो,” उहाँले भन्नुभयो ।
एउटा जहाजका दुई चालक, आफै झगडा गरेपछि त्यो जहाज र यात्रुको अवस्था जे हुन्छ अहिले नेकपामा त्यस्तै भएको नेता गजुरेलको भनाई छ ।