काठमाडौं । राजावादीहरुको प्रदर्शनलाई मध्यनजर गर्दै आज माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरियो ।
केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शनलाई मध्यजर गर्दै काठमाडौंमा प्रदर्शन, भेला तथा जुलुस नगर्न आग्रह गरेको थियो ।
यद्यपि, त्यसका बाबजुद माइतीघरमा राजावादीको प्रदर्शनको तयारी गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरियो ।
यो त एउटा दृष्टान्त मात्रै हो । विगत एक दिन महिनायता राजावादीहरुको प्रदर्शन देशैभरी भइरहेको छ । राष्ट्रिय शक्ति नेपाल, स्वतन्त्र नागरिक समाज जस्ता संगठनले नेत्तृत्वको दाबी गरिहेका छन् ।
प्रदर्शनमा प्रायः अयाँ अनुहार देखिएका छन् । सयौंको संख्यामा युवाहरु पनि छन् । उनीहरुले राष्ट्रिय झण्डा बोक्ने गरेका छन् । राजावादीको आन्दोलनमा कांग्रेसका नेता विपिन कोइरालासमेत देखिएका थिए । यसले नयाँ प्रश्न खडा गरेको विश्लेष हुन थालेको छ ।
किन राजावादीहरु फेरि सल्बलाए त ? यो प्रश्न अहिले नेपाली राजनीतिमा टट्कारो रुपमा उठ्नु स्वाभाविकै हो ।
यसको उत्तर पनि छ । लोकतान्त्रिक र गणतान्त्रिक सत्ताधारी जनताको आकांक्षा पूरा नगरी व्यक्तिगत लाभ र सत्तालिप्सामा लागेका कारण जनता निराश भएको र यही मौकामा राजावादीहरु सल्बलाएको विश्लेषण गर्ने गरिन्छ ।

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला पनि ओलीतन्त्रको कुशासन र भ्रस्टाचार देखेर जनता वाक्क भएको मौकामा राजावादीहरु बल्बलाएको बताउँछन् ।
‘ओलीतन्त्रको कुशासन र भ्रष्टाचार देखेर जनता वाक्क भएको मौका छोप्दै इतिहासको रछ्यानमा मिल्किएका बराबिचरा राजावादी भिउँटहरू गणतन्त्रविरूद्ध सडकमा कुर्लिराछन्’, उनी ट्विटरमा लेख्छन् ।
वाम वृद्धिजीवीसमेत रहेका संग्रौला राजावादी सल्बलाउनुमा विगतमा राजतन्त्रप्रति नरम रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भित्री हात हुनसक्ने शंकासमेत गर्छन् ।
‘स्वतन्त्रताप्रेमी जनता शंका गर्छन् । यो गणतन्त्रविरोधी विष–बमनमा कतै बयडगाडे कान्छाको हात र साथ त छैन ?’, उनको प्रतिप्रश्न छ ।
यसैबीच, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान युवाहरुलाई आग्रहसमेत गरे ।

‘युवासँग आग्रह गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊ !अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भरौं’, उनले ट्विटरमा लेखेका छन्, ‘सन्की रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस ! अगाडिको स्यालसँग लड्दा पछाडि भ्वाङा लुकेको ब्वासो नबिर्सौं ! दुवैसँग लडेर अघिजाने साहस गरौं !’
यसअघि हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दा जब्बरजस्त उठाइरहेको कमल थापा नेत्तृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले साक्षी किनारा मात्रै बनिरहेको छ । हुन त थापाले कुनैवेला थापा ओली सरकारमा गएसँगै उनको राजतन्त्रप्रतिको विश्वसनियता कमजोर भएको बताइन्छ ।
यद्यपि, थापाले वर्तमान् आन्दोलनमा आफू र आफ्नो पार्टीको नैतिक समर्थन रहेको बताएका छन् ।

अहिले नेकपामा विवाद देखिएर जनता निराश भएका वेला राजावादीहरुले धमिलोपानीमा माछा मार्न खोजेको भए पनि उनीहरु दीर्घकालीन रुपमा सफल नहुने कतिपयको विश्लेषण छ । कतिपयले भने वर्तमान् राजावादीको आन्दोलनलाई भारतीय हिन्दूवादीको उक्साहटको रुपमासमेत लिएको पाइन्छ ।