काठमाडौं । चरम विवादमा फसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि अन्यौलमा परेको छ । पटक पटक आग्रह गर्दा बल्लबल्ल बस्ने र ठोस निर्णय विना टुंगिने गरेको सचिवालय बैठकमा आज पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थीत हुने संभावना रहेकाले बैठक अन्यौलमा परेको हो ।
यसअघि गत १७ गते बसेको बैठकमा अध्यक्ष ओली अनुपस्थीत भएपछि उहाँलाई अर्को बैठकमा सहभागी हुन आग्रह गर्दै आजका लागि बैठक तय गरिएको हो ।
एक–अर्काप्रति गम्भीर आरोप–प्रत्यारोप गर्दै छुट्टा छुट्टै राजनीतिक प्रस्ताव पेस गरेका अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षका बीचमा विवाद थप चर्किदै गएको छ ।
ओली पक्षले दुवै प्रस्ताव फिर्ता हुनु पर्ने अडान राखेको छ भने प्रचण्ड पक्षले दुवै प्रस्तावलाई छलफलका लागि तल्लो निकायसम्म लैजानु पर्ने अडान राखेको छ ।
दुवै पक्ष आ आफ्ना अडानमा रहेकाले अझै केही समय नेकपा यस्तै बन्धक अवस्थामै रहने देखिएको छ । सचिवालय बैठक नै राम्रोसँग चल्न नसकिरहेका बेला भोलीका लागि स्थायी कमिटिको बैठक पनि बोलाइएको छ ।
यसअघि १८ गतेका लागि बोलाइएको बैठक सचिवालयमा विवाद भएकाले भोलीका लागि सारिएको हो । आजको सचिवालय बैठकले भोलीको स्थायी कमिटि बैठकका बारेमा पनि निर्णय गर्नुपर्ने बाध्यता रहेको छ । प्रधानमन्त्री निकट नेताहरुसँग हिजो र अस्ती भएको भेटका क्रममा अध्यक्ष प्रचण्डले आजको बैठक नरोकिने जवाफ दिनुभएको थियो ।
प्रधानमन्त्रीको सन्देश लिएर उपप्रधानमन्त्री ईश्वर पोखरेलले हिजो, महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले अस्ती खुमलटारस्थित निवासमा पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नु भएको थियो । उहाँहरुले दुवै अध्यक्ष अनौपचारिक छलफल गरेर साझा राजनीतिक प्रस्ताव बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।
उहाँहरुलाई अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले साँच्चै निकास खोजेको हो भने सचिवालय बैठकमा उपस्थित भएर सहमतिको आधार प्रस्तुत गरेर कमिटीलाई विश्वासमा लिन सक्नुपर्ने जवाफ दिनुभएको थियो । अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग बसेर छलफल गर्नुको औचित्य नरहेकाले आजको बैठक नरोकिने प्रस्ट्याउनु भएको थियो ।
प्रचण्ड पक्षले बैठक नरोक्ने भएपछि ओली पक्षले बैठकमा सहभागी भएरै प्रभावित पार्ने रणनीति लिने संभावना पनि रहेको ओली पक्षका नेताहरुको दावी छ ।
ओली पक्षले बैठक स्थगित गर्नुपर्ने र प्रचण्ड पक्षले बैठकलाई निरन्तरता दिनु अडान लिएकाले आजको बैठक अहिलेसम्म पनि अन्यौलमै रहेको छ ।