काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै पनि लोकतन्त्रमा विश्वास नगर्ने पात्रको रुपमा चित्रित गर्नुभएको छ ।
प्रधानमन्त्री ओली देखावटी रुपमा मात्रै लोकतन्त्रवादी भएको र भित्रि रुपमा र मौका पर्दा तानाशाही र लोकतन्त्रविरोधी भएको उहाँले दावी गर्नुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले ओलीको अहिलेसम्मका धेरै व्यवहार र कार्यशैली लोकतन्त्र अनुसारको नभएको आरोप लगाउनुभयो ।
स्थानीय उपभोक्ता समितिको निमन्त्रणामा पुल उद्घाटन गर्न गएका बेला सरकारले अवरोध गरेपछि ओलीप्रति थप रुष्ट हुनुभएका नेता पौडेलले तनहुँमा भएको घटना ओली र कम्युनिष्ट सरकारको प्रबृत्ति भएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “त्यस घटनाबाट ओली सरकारको खराव नियत र तानाशाही प्रबृत्ति झल्कीन्छ, केपी ओलीले लोकतन्त्रको परिक्षा दिन बाँकी छ ।”
प्रधानमन्त्री ओली लोकतन्त्रवादी हुनुहुन्छ भन्नेमा अझै विश्वास गर्न नसकिएको बताउदै उहाँले लोकतान्त्रीक भएको प्रमाणित गर्न चुनौती दिनुभयो । बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओली १४ बर्ष जेल बसेको लोकतन्त्रका लागि नभइ अर्कै घटनाका कारण भएको दावी गर्दै लोकतन्त्रप्रति ओलीको खासै योगदान नभएको आशय व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालका कम्युनिष्टहरुबाट निराश हुनु नपरोस, लोकतन्त्रवादी हुन भन्ने व्यवहार देखियोस, लोकतन्त्रका सच्चा पक्षधर र संरक्षक हुन भन्ने विश्वास गर्न सकिने आधार देखाउन म आग्रह गर्दछु ।”
बरिष्ठ नेता पौडेलले तत्कालिन नेकपा एमाले र माओवादीबीचको एकिकरणलाई अप्राकृतिक गठबन्धनको संज्ञा समेत दिनुभयो । कुनै नीति, सिद्धान्त, कार्यक्रम, कार्यनितिले नभई सत्ता स्वार्थका लागि उनीहरु मिलेको बरिष्ठ नेता पौडेलको टिप्पणी छ ।