नेपालको आन्तरिक मामिलामा उत्तरको छिमेकी मुलुक चीनले देखिने गरी बढाएको सक्रिय हस्तक्षेपको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले बचाउ गरेका छन् ।
चिनियाँ राजदूत हाउ यान्छीमार्फत नेपालमा बढिरहेको चीनको सक्रियतालाई सत्तारुढ दलका नेताहरुले बचाउ गरेका हुन् । उनीहरुले भारतसँग तुलना गर्दै नेपालमा चीनले सहयोगी भूमिका खेलेको तर भारतले सधैँ अपमान र हस्तक्षेप लादेको टिप्पणी समेत गरेका छन् ।
वैदेशिक हस्तक्षेपको खरो विरोध गर्ने नेताका रुपमा चिनिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि पछिल्लो समय नेपालमा बढिरहेको चीनको सक्रियताको बचाउमा उत्रनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा चारबुँदे टिप्पणी गर्दै भट्टराईले चीनले नेपालको संविधानलाई सम्मान गरेको तर भारतले स्वीकार नै नगरेको उल्लेख गर्नुभएको छ । यद्यपि भट्टराईले आफ्नो टिप्पणीमा चीन र भारतको नाम भने उल्लेख गर्नुभएको छैन ।
आफ्नो चारबुँदे टिप्पणीको पहिलो बुँदामा मन्त्री भट्टराईले ‘संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संविधान निर्माणप्रति सद्भाब राख्नु ठिक भनेर प्रश्न गर्नुभएको छ । नेकपाका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री भट्टराईले पहिलो र दोश्रो संविधानसभाको बेलामा तराईँ र पहाड, जाति जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाब राख्नु ठिक भनेर पनि प्रश्न गर्नुभएको छ ।
यस्तै उहाँले नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक भनेर पनि प्रश्न गर्नुभएको छ । आफ्नो टिप्पणीको अन्तिम बुँदामा उहाँले पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबीचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्धभाव राख्नु भनेर पनि प्रश्न गर्नुभएको छ ।
यी चारवटा प्रश्न गरिसकेपछि मन्त्री भट्टराईले कुनै पनि विदेशी राजनीतिक तथा कुटनीतिक गतिवधिलाई यसै सन्दर्भबाट हेरियो भने सही हुन्छ भन्ने निष्कर्ष दिनुभएको छ । यसको अर्थ अहिले चीनले नेपालमा देखाइरहेको सक्रियात सही हो भन्ने अर्थ दिने विश्लेषकहरुले बताएका छन् ।
यस्तै नेकपाका सचेतक देव गुरुङले पनि राजदूतले नेताहरुलाई भेट्नु कुनै अलौकिक कुरा नभएको बताउनुभयो । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले राजदूतसँग भेट हुँदा नेकपाकै झगडा मिलाउने सम्बन्धी मात्रै कुरा भयो भनेर विश्वास गर्न नहुने जिकिर गर्नुभयो ।
तर कुटनीतिज्ञ दिनेश भट्टराईले भेटघाट हुँदैमा आन्तरिक मामिलामा हस्तक्षेप भएको मान्न नसकिने नेकपाका नेताहरुको दाबी खारेज गर्नुभयो । आफ्नो पार्टीको आन्तरिक झगडामा विदेशीलाई निम्त्याउने नेकपाका नेताहरुको योग्यतामाथि पनि उहाँले प्रश्न उठाउनुभयो । शिष्टाचार भेट मात्रै हो भने अहिले हाम्रो पार्टीमा विवाद छ यो बेला भेट भयो भने गलत सन्देश जान्छ विवाद साम्य भएपछि भेटवार्ताको मिति तय गरौँला भनेर नेताहरुले भन्न नसकेकोमा उहाँको आपत्ति छ ।
नेकपाको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेपछि पार्टी विभाजनको संघारमा छ । यहि बेला चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग भेट गर्नुभएको छ । यो भेटघाट नितान्त पार्टीभित्रको झगडा मिलाउनका लागि चीनको हस्तक्षेपकारी कदम रहेको विश्लेषक लोकराज बरालको टिप्पणी छ ।
नेकपाको झगडामा चिनियाँ राजदूतको यो सक्रियतालाई नेपालको आन्तरिक राजनीतिमा चीनको ‘माइक्रो म्यानेजमेन्ट’ सुरु भएको अर्थमा पनि विश्लेषण भइरहेको छ । हिजो भारततीय राजदूतले निभाउने भूमिका अहिले चीनलाई सुम्पेको भन्दै कम्युनिष्टहरुको आलोचना भइरहेको छ । यसले देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप कुनै हालतमा भित्रिन नहुने आम नेपालीको चाहनामा तुसारापात भइरहेको छ ।