काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले कार्यकारी प्रमुख र सत्तापक्ष संसद्को गरिमा र मूल्यमान्यताप्रति पूर्णतः अनभिज्ञ रहेको आरोप लगाउनुभएको छ । सरकारले संसद्लाई बिजनेस दिने र जनसरोकारका मुद्दा सुन्ने थलोका रूपमा नभई केवल अवरोध सिर्जना गर्ने केन्द्रका रूपमा मात्र उपयोग गरेको उहाँको तर्क छ ।
सांसद केरुङले प्रधानमन्त्री बिनाकुनै तयारी संसद्मा आएर आक्रोशपूर्ण र गैरजिम्मेवार अभिव्यक्ति दिएको टिप्पणी गर्नुभयो। प्रधानमन्त्रीको यस्तो व्यवहारले संसद्मा उत्पन्न हुन सक्ने र भइरहेका नकारात्मक परिणामप्रति सरकार कति उदासीन छ भन्ने प्रष्ट पारेको भन्दै उहाँले राजनीतिक संशय थप बढेको बताउनुभयो ।
अर्को प्रसङ्गमा, अर्थमन्त्री स्वर्णिम वाग्लेले करको दर हेरफेर गरेको गम्भीर आरोप लगाउँदै उहाँले गृहमन्त्री सुदन गुरुङको जस्तो नाम मात्रको ’डमी आयोग’ नभई निष्पक्ष छानबिन आयोग गठन हुनुपर्ने अडान दोहो¥याउनुभयो। प्रतिपक्षी दलहरूको यो साझा माग रहेको उल्लेख गर्दै उहाँले औपचारिकताका लागि मात्र गरिने अनुसन्धानको प्रवृत्ति गलत भएको औंल्याउनुभयो ।
गल्ती ठहरिए सार्वजनिक जीवन र पद त्याग गर्न तयार हुने अर्थमन्त्रीले निष्पक्ष छानबिनको सामना गर्न डराउनु नहुने उहाँको भनाइ छ । यसैगरी, संसद्मा राष्ट्रिय सार्वभौमिकता, देशको स्वाधीनता र कूटनीति जस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले विवेक प्रयोग गर्नुको साटो बिनाकारण ताली बजाएर समर्थन गर्ने प्रवृत्तिको समेत केरुङले कडा आलोचना गर्नुभयो ।