काठमाडौं। नेकपाका नेता तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले मुलुकको वर्तमान अवस्था सामान्य देखिए पनि सरकारमाथि जनताले राखेको आशा पूरा हुनेमा संशय बढ्दै गएको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुरा गर्दै नेता पौडेलले सरकारको कार्यशैली र बजेटको सीमालाई लिएर असन्तुष्टि व्यक्त गर्नुभयो ।
नेता पौडेलले प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर दिएको अभिव्यक्ति अपरिपक्व र राष्ट्रिय हित विपरीत रहेको आरोप लगाउनुभयो। उक्त अभिव्यक्तिले नेपाली जनता र समग्र राष्ट्रलाई कुठाराघात गरेको तथा छिमेकी राष्ट्रलाई खुसी पार्ने नियत राखेको उहाँको दाबी छ । सरकारले सुशासनको नारा दिए पनि त्यसका नाममा राजनीतिक प्रतिशोध साध्ने काम गरे मुलुक फेरि गम्भीर दुर्घटनातर्फ धकेलिने चेतावनी उहाँले दिनुभयो।
यसैगरी, हालै सार्वजनिक बजेटले आम सर्वसाधारण र विपन्न वर्गलाई उपेक्षा गरेको पौडेलको ठहर छ। विनियोजित बजेटले केवल मध्यम वर्गलाई मात्र समेटेको भन्दै उहाँले यसले गरिब र दूरदराजका जनताको समस्या समाधान गर्न नसक्ने टिप्पणी गर्नुभयो।