काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेपालको राजनीति शक्ति केन्द्रहरूको स्वार्थमा रूपान्तरण भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभा जस्तो गरिमामय ठाउँमा देशको प्रतिनिधित्व गर्दा प्रधानमन्त्रीले सुविचारित र परिपक्व ढंगले बोल्नुपर्नेमा उहाँले जोड दिनुभयो।प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्ति झुट, गलत र देशभक्त जनताको हित विपरीत रहेको नेता खनालको दाबी छ ।
इतिहासमा भीमसेन थापादेखि वर्तमानसम्मका कुनै पनि प्रधानमन्त्रीले यस्तो अपरिपक्क अभिव्यक्ति नदिएको भन्दै उहाँले आलोचना गर्नुभयो । मेची–महाकाली, कालापानी र लिम्पियाधुराको ऐतिहासिक सीमा विवाद समाधान गर्न सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ। खनालले यो विषयलाई थप बल्झाउनुभन्दा प्रधानमन्त्रीले तत्काल माफी मागेर सम्भावित दुष्परिणामबाट देशलाई जोगाउनुपर्ने माग गर्नुभयो ।
यसैगरी, अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेर गरेको प्रसंगमा खनालले तत्काल स्पष्टीकरण दिनुपर्ने माग गर्नुभयो। अमूक स्वार्थमा करका दर फेरबदल गरिएको भए जनताले सरकारमाथि विश्वास गर्न नसक्ने उहाँले बताउनुभयो । होल्डिङ सेन्टरहरू भूमिहीन जनताका लागि ’यातना सेन्टर’ बनेको आरोप लगाउँदै खनालले सरकारको यो प्रवृत्तिलाई तानाशाहीको संज्ञा दिनुभयो । वर्तमान बेथिति र गलत कदमहरूलाई नै सुशासन मान्ने हो भने देश भयावह स्थितितर्फ धकेलिने चेतावनी समेत उहाँले दिनुभयो ।