काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान नेता धवल शमशेर जवराले पार्टीले आफ्नो मूल मूल्य–मान्यता भुलेर बाटो बिराएका कारण आफूले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुरा गर्दै नेता जवराले राप्रपा आफ्नो मार्गचित्र र एजेन्डामा अडिग रहन नसक्दा जनताको विश्वास टुटेको दाबी गर्नुभयो ।
उहाँले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनमाथि गम्भीर व्यक्तिगत तथा राजनीतिक आरोप समेत लगाउनुभएको छ । आफू कारागारमा रहँदा अध्यक्ष लिङदेनले जेलमै बसोस् भन्ने नियत राखेको र आफ्नो कार्यकाल लम्ब्याउने खेलमा मात्र लागेको जवराको आरोप छ । पार्टीले सही ढंगले काम नगर्ने संकेत पाएपछि आफूले नयाँ दल खोल्ने तयारी गरेको उहाँले स्पष्ट पार्नुभयो ।
जवराले अब स्थापना हुने नयाँ पार्टीले राजतन्त्रको पुनर्बहाली र संघीयताको खारेजीलाई मुख्य एजेन्डा बनाउने बताउनुभयो । राजाप्रति आस्था राख्ने र संघीयता विरोधी हरकोहीलाई नयाँ दलमा समेटिने उहाँको भनाइ छ । साथै, राप्रपा विधानविपरीत चलेको महसुस गर्ने असन्तुष्ट कार्यकर्ताहरूलाई आफ्नो सम्पर्कमा आउन समेत उहाँले आह्वान गर्नुभएको छ ।