काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा ठूलो चुनौती रहेको बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’मा कुरा गर्दै पाण्डेले बिना स्रोत र आधार बजेट ल्याइएको दाबी गरे।
२१ खर्ब २४ अर्बको बजेट स्रोतबाट पूरा हुने अवस्था नदेखिएको भन्दै उनले मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाउनुपर्ने अवस्था आउने दाबी गरे। नवप्रवर्तनका लागि छुट्याइएको ४ अर्ब रुपैयाँ सकारात्मक भए पनि विगतका अनुभव हेर्दा कार्यान्वयन पक्ष एकदमै कमजोर रहेको उनको भनाइ छ।
यस्तै, आगामी वर्षका लागि राखिएको १५ खर्ब ८० अर्बको राजश्व लक्ष्य यथार्थपरक नभएको नेता पाण्डेले औंल्याए। हाल ७ प्रतिशत मात्र राजश्व वृद्धिदर रहेको अवस्थामा एकैपटक ३०–३१ प्रतिशतले वृद्धि गर्नु किमार्थ सम्भव नभएको उनले स्पष्ट पारे। बैंकहरुमा २१ खर्ब रुपैयाँ लगानी हुन नसकेर थुप्रिएको र व्यवसायीमा विश्वास गुमेका कारण ब्याजदर घट्दा पनि ऋण प्रवाह नभएको उनले बताए।
अर्को एक प्रसंगमा, नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति अनभिज्ञता प्रकट गर्दै सानो राष्ट्र नेपालबाट त्यस्तो कार्य सम्भव नै नहुने र भारतले पनि कहिल्यै यस्तो प्रश्न नउठाएको उनले स्पष्ट पारे।