काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले सत्तापक्षले संसदको मर्यादा कायम नगरे र प्रतिपक्षलाई उपेक्षा गरे सदनभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुरा गर्दै सांसद केरुङले उक्त धारणा राखेका हुन्।
हिजो सदनमा आफू आक्रोशित रूपमा प्रस्तुत भएको भन्ने टिप्पणीलाई खारेज गर्दै उनले आफू झगडा गर्न नभई सभामुखको ध्यानाकर्षण गराउन मात्र बेलतर्फ अघि बढेको स्पष्ट पारे। सत्तासीन दल र मन्त्रीहरूले मूल विषयभन्दा बाहिर गएर प्रतिपक्षी दलहरूलाई होच्याउने र डोमिनेट गर्ने प्रयास गरेको उनको आरोप छ। ३७ वर्षमा देशमा केही भएन’ भन्ने सत्तापक्षको भाष्यप्रति आपत्ति जनाउँदै उनले विगतका सरकारकै पालामा ९९ प्रतिशत विद्युतीकरण र सञ्चार प्रविधिको विकास भइसकेको दाबी गरे।
पर्यटन विधेयक लगायतका कानुन निर्माणमा प्रमुख प्रतिपक्षी दलले कुनै अवरोध नगरेको र सरकारलाई पूर्ण सहयोग गरिरहेको उनले बताए। यद्यपि, देशको प्रधानमन्त्री सदन र जनताप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने उनको माग छ। प्रधानमन्त्री दिनहुँ उपस्थित हुन नसके पनि समय मिलाएर जनताका प्रश्नको जवाफ दिन सदनमा आउनुपर्ने उनले बताए।
सरकार सही बाटोमा हिँडे प्रतिपक्षीको नाताले रचनात्मक सहयोग गर्ने तर सदनको गरिमा भुलेर जबर्जस्ती अघि बढ्न खोजे कडा प्रतिवाद गर्ने सांसद केरुङले स्पष्ट पारेका छन्।