Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेपाली राजनीतिमा युवा नेतृत्वको चर्चा बहसमै सिमित, पुरानाले छोड्दैनन्

नेपाली राजनीतिमा युवा नेतृत्वको चर्चा बहसमै सिमित, पुरानाले छोड्दैनन्

नयाँले हस्तक्षेप गर्दैनन्
  • बिहिवार, मंसिर १८ २०७७

  • 1.4K
    SHARES

  • नेपाली राजनीतिमा युवा नेतृत्वको चर्चा बहसमै सिमित, पुरानाले छोड्दैनन्

    काठमाडौं । नेपाली राजनीतिको नेतृत्वमा युवा पुस्ताको उपस्थिती शून्य प्राय नै छ । राजनीतिक दल या राज्यको बागडोर सम्हाल्ने तहमा अहिले पनि उमेरले ६५ नाघेका नेताहरुकै हालीमुहाली छ ।

    नेकपा भित्रको विवादका बीच अहिले फेरी नेपालको राजनीतिमा पुस्तान्तरणको बहस चलेको छ । खासगरि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफी प्रतिवेदन पेश गर्दा नेतृत्वमा नयाँ पुस्तालाई अघि सार्ने प्रस्ताव गरेपछि बहस चलेको हो । तर यो प्रस्ताव तात्कालिक अवस्थालाई मध्यनजर गरि विषयान्तरका लागि मात्रै आएको टिप्पणी समेत गरिएको छ ।

    राजनीतिक विश्लेषक मुमाराम खनाल अहिलेको पुस्तान्तरणको बहस पनि स्टन्ट मात्रै भएको दावी गर्नुहुन्छ । साँच्चिकै पुस्तातन्रण प्राथमिकतामा भए सोहि अनुसारको कार्ययोजना, प्रशिक्षण विधि चाहिने उहाँको भनाई छ ।

    विकसित मुलुकहरुको अवस्था हेर्ने हो भने बाराक ओबामा ४७ वर्षमा अमेरिकाको राष्ट्रपति भएका थिए । बेलायतको प्रधानमन्त्री चुनिदा डेविड क्यामरुन ४२ वर्षका थिए । न्यूजिल्याण्डकी प्रधानमन्त्रीको उमेर भर्खर ३७ पुगेको छ । भारतको उत्तरप्रदेशमा ४० बर्ष नपुग्दै अखिलेश यादव मुख्य मन्त्री भए भने ४८ बर्षका अरविन्द केजरीवाल दिल्लीका मुख्यमन्त्री छन् ।

    ६० नपुगेका नेताहरुको अत्यधिक उपस्थिती छ विश्व राजनीतिमा । नेपालकै इतिहास हेर्ने हो भने पनि विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, पुष्पलाल, मदन भण्डारी, पुष्पकमल दाहाल, बाबुराम भट्टराईलगायतका नेताहरुले पनि आफूलाई युवा उमेरमै स्थापित गरेका हुन् । चाहे प्रधानमन्त्री केपी शर्मा ओली या कांग्रेस सभापति शेरबहादुर देउवा युवा उमेरमै राजनीतिमा प्रभाव जमाएका हुन् ।

    पछिल्लो समय युवा उमेरमै संभावना देखाएका नेताहरु नआएका भने होइनन । तर उनीहरुको चर्चा मात्रै भयो, नेतृत्व तहमा उनीहरु पुग्नै सकेनन् । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य युवा भनिएका नेतामै समस्या देख्नुहुन्छ ।

    सत्तारुढ नेकपा भित्रका घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, जनार्दन शर्मा, वर्षमान पुन, त्यस्तै कांग्रेस भित्र गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदिप पौडेलजस्ता नेताहरुले युवा उमेरमै राजनीतिमा बलियो आगमन त देखाए, तर नेतृत्वमा पुग्न सकिरहेका छैनन् । आज पनि १० को दशकमा जन्मिएका नेताहरु नै नेपालकोे राजनीतिक नेतृत्वमा छन् ।

    एकातर्फ नेपालको राजनीतिमा उमेर र स्वास्थ्यले साथ नदिएपनि ठाउँ नछाड्ने बुढा नेताहरु नै युवा पुस्ताको राजनैतिक विकासको बाधक बनिरहेका छन् भने अर्को तर्फ युवा पुस्ताले पनि नेतृत्वका लागि बलियो हस्तक्षेप गर्न सकिरहेका छैनन ।

    त्यसैले सबैजसो दलले पार्टीको आन्तरिक संरचनामा खुला प्रतिस्पर्धाको वातावरण बनाउने, क्षमता र योग्यताका आधारमा नयाँ र ताजा अनुहारले पनि सिधै पार्टी नेतृत्वमा जान सक्ने राजनीतिक संस्कृतिको विकास गर्ने हो भने मात्र नयाँ पुस्ता नेतृत्वमा जान सक्ने वातावरण बन्ने देखिन्छ ।


    बिहिवार, मंसिर १८ २०७७०८:०१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij