काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवम् पूर्वमन्त्री देवेन्द्र दाहालले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अल्पमतमा परेको भन्ने टिप्पणी ’स्याल हुइँया’ र हल्ला मात्रै भएको दाबी गरेका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’मा पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता दाहालले पार्टीभित्र आफ्ना कुरा राख्नु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको तर नेतृत्व नै परिवर्तन गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।
पछिल्लो सचिवालय बैठकमा उपाध्यक्षहरू पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल लगायतले अध्यक्ष ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै ’पार्टी प्राइभेट कम्पनी जस्तो भएको’ र ’तपाईँबाट पार्टी नचल्ने’ भनी आलोचना गरेको भन्ने सञ्चारमाध्यमका समाचारहरूलाई दाहालले झुटो र बनावटी समाचार भएको बताएका छन् । उनले भने, “पार्टीभित्र निर्मम ढंगले समीक्षा र छलफल हुन्छ, आफ्नो कुरो राख्न सकिन्छ, तर त्यसैलाई निर्णय मान्न सकिँदैन। अध्यक्ष ओली अल्पमतमा पर्नुभएको छैन र उहाँले अहिले अध्यक्ष पद छोड्नुपर्ने कुनै कारण पनि छैन।“
निर्वाचनमा नेकपा एमालेले भोगेको भारी पराजय र पार्टी एकल अंकको सिटमा खुम्चिएको सन्दर्भमा दाहालले यसको सम्पूर्ण दोष अध्यक्ष ओलीलाई मात्र दिनु अत्यन्तै गलत भाष्य भएको तर्क गरे। पुराना दलहरूका कमीकमजोरी र जनतामा जागेको वितृष्णाका कारण यस्तो नतिजा आएको भन्दै उनले समग्र परिस्थितिको मूल्याङ्कन हुनुपर्नेमा जोड दिएका छन् ।
आगामी दिनमा एमालेले आफ्ना कमजोरीहरूलाई सच्याउँदै, आवश्यक परे कार्यशैलीलाई परिमार्जन गरेर बलियो संगठनका साथ अगाडि बढ्ने दाहालले विश्वास व्यक्त गरे। बाहिर हल्ला भएजस्तो एमाले कमजोर वा विभाजित नभएको दाबी गर्दै उनले राजनीतिक वृत्त र सञ्चारमाध्यमलाई पर्ख र हेरको अवस्थामा रहन आग्रह समेत गरेका छन्।