काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले सदनलाई छलेर अध्यादेशमार्फत शासन चलाउने सरकारको प्रवृत्ति गलत भएको बताएकी छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार खेम बमसँग कुरा गर्दै उपसभापति भुसालले अहिले संवैधानिक परिषद् र न्यायालयमा देखिएका सम्पूर्ण विवादहरू सरकारले ल्याएको अध्यादेशको परिणाम भएको जिकिर गरिन्। अध्यादेशमार्फत संविधानका अंगहरुलाई परिमार्जन गर्ने र विवादित गराउने काम भएको उनको भनाइ छ।
पार्टीको आन्तरिक विवादबारे बोल्दै भुसालले पार्टीको विधान र संविधानभन्दा माथि कोही पनि व्यक्ति नरहेको बताइन्। पार्टीभित्र मनोवैज्ञानिक ढंगबाट विभाजन ल्याउने र गुटका भेलाहरु गर्ने कार्यले संगठन कमजोर हुने उनको भनाई छ । सक्रिय सदस्यता नवीकरणको विवादबारे स्पष्ट पार्दै उनले हिजोको दिनमा नवीकरण गरिसकेका सबै सक्रिय सदस्यहरुले आउने महाधिवेशनमा भाग लिन पाउने बताएकी छन् ।
एक्काइसौं शताब्दीअनुकूल पार्टीलाई रुपान्तरण गर्न ‘डिजिटल मेम्बरसिप’ लागू गर्न लागिएको र केन्द्रीय समितिले नै सक्रिय सदस्यहरूसँग सम्पर्क गरी डिजिटल कार्ड वितरण गर्ने उनले जानकारी दिइन्। यस प्रणालीले पार्टी र सक्रिय सदस्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने उनको दाबी छ।