काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेपाली कांग्रेस कमजोर नभएको स्पष्ट पार्दै पार्टीभित्रको आन्तरिक विवादलाई संवादमार्फत तत्काल टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम ‘नेपाली बहस’ मा कुरा गर्दै उहाँले पार्टी र देशको समसामयिक राजनीतिक अवस्थाबारे गम्भीर टिप्पणी गर्नुभएको हो ।
नेता खतिवडाले पार्टीभित्र देखिएका मतभेदहरूलाई समाधान गर्न पूर्णबहादुर खड्का, सभापति गगन थापा र शेखर कोइराला पक्ष सम्मिलित एउटा साझा समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । यस्तो समितिले आन्तरिक समस्याहरूको प्याकेजमै निराकरण गर्ने उहाँको विश्वास छ ।
त्यस्तै उहाँले वर्तमान सरकार र जनप्रतिनिधिहरूको शैलीप्रति कडा आपत्ति जनाउनुभएको छ। प्रधानमन्त्री बालेन शाहले संसदमा प्रयोग गर्ने पोशाक राष्ट्रिय पोशाक र मर्यादा विपरित भएको भन्दै उहाँले आलोचना गर्नुभयो । साथै, संसदमा राष्ट्रपतिको महत्वपूर्ण भाषण चलिरहेकै समयमा प्रधानमन्त्री बैठक छोडेर भाग्ने गरेको विषयमा टिप्पणी गर्दै उहाँले यसलाई संसदीय मर्यादाको ठाडो उल्लंघन भएको बताउनुभएको छ । अहिले आम जनता र सरोकारवाला सबैको आँखा संसदतर्फ नै केन्द्रित भएकाले सरकार पूर्ण रूपमा संसदप्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्ने नेता खतिवडाको भनाइ छ ।