काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार खेम बमसँग कुरा गर्दै नेता साउदले विशेष महाधिवेशनबाट स्थापित युवा नेतृत्वले परिपक्वता र उदारता देखाएर सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिनुभयो।
अदालत र निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कार्यसमितिले वैधानिकता पाएको स्वीकार गर्दै उहाँले विशेष महाधिवेशनमा आधा मात्रै प्रतिनिधिको सहभागिता रहेकाले असन्तुष्ट पक्षको सरोकारलाई सम्बोधन गर्नु घरमुलीको कर्तव्य भएको टिप्पणी गर्नुभयो। पार्टीका ९ लाख क्रियाशील सदस्यहरूलाई पुनः अद्यावधिक गर्ने प्रक्रिया अव्यावहारिक भएको भन्दै उहाँले यसले पार्टी थप खुम्चिने चिन्ता व्यक्त गर्नुभयो। खेतीपाती र वैदेशिक रोजगारीका कारण ठूलो जनसंख्या बाहिर रहेका बेला समय बढाउँदा पनि अद्यावधिक हुन नसकेको उहाँको दाबी छ।
पछिल्लो निर्वाचनमा कांग्रेसले १६५ मध्ये जम्मा १८ सिट मात्र जितेको र भोट संख्या पनि घटेको उल्लेख गर्दै साउदले पार्टीको ‘कम्मर फुटेको’ जस्तो अवस्था भएको बताउनुभयो। चुनावी गठबन्धनको विरोध गर्नेहरूका कारण पार्टी कमजोर बनेको उहाँको आरोप छ। सभापतिकै हस्ताक्षरको टिकटमा चुनाव लडे पनि पार्टी हितका लागि फरक मत राख्ने र नेतृत्वलाई सचेत गराउने अधिकार सुरक्षित रहने उहाँले प्रष्ट पार्नुभयो। सानेपासँग आफूहरू आवश्यक संवाद र एकताकै पक्षमा रहेको उहाँको भनाइ थियो ।