काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्ष पदमा अनुभवी नेता एवं प्रतिष्ठित शिक्षाविद् उमेश श्रेष्ठ मनोनीत हुनुभएको छ ।
पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई आज सो जिम्मेवारी सुम्पिनुभएको हो ।
श्रेष्ठ यसअघि पनि तत्कालीन सभापति शेरबहादुर देउवाको कार्यकालमा पार्टीको कोषाध्यक्षका रूपमा काम गरिसकेका व्यक्ति हुनुहुन्छ । केही दिनअघि मात्र केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत हुनुभएका श्रेष्ठलाई सभापति थापाले पार्टीको आर्थिक व्यवस्थापनको महत्त्वपूर्ण कमान्ड सुम्पिनुभएको हो ।
श्रेष्ठले यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसक्नुभएको छ । सफल उद्योगीका रूपमा चिनिनुहुने श्रेष्ठको पछिल्लो समय शिक्षा,कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा ठूलो लगानी रहेको छ ।
