काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टी भित्र देखिएको आन्तरिक विवाद र असन्तुष्टिलाई विधान र पद्धतिका आधारमा मात्र समाधान गर्न सकिने बताएका छन्। नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुराकानी गर्दै महामन्त्री घिमिरेले पार्टीलाई विधि र पद्धतिसम्मत रूपमा अगाडि बढाउनुको विकल्प नरहेको स्पष्ट पारेका हुन्।
धनगढीमा सम्पन्न पार्टीको पछिल्लो सभा निकै उत्साहजनक रहेको जानकारी दिँदै उनले अब कांग्रेसको सम्पूर्ण ध्यान १५औं महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताए। विगतमा निर्णय प्रक्रिया पारदर्शी नहुँदा, मूल्याङ्कन प्रणाली उपयुक्त नहुँदा र पार्टी केही नेताहरूको निजी मामलाजस्तो बन्दा विवाद सिर्जना भएको उनको भनाइ छ।
पार्टीभित्र असन्तुष्ट पक्षले समानान्तर गतिविधि वा महाधिवेशनको तयारी गरिरहेको भन्ने चर्चालाई इन्कार गर्दै उनले त्यस्ता गतिविधिले पार्टी एकतालाई बल नपु¥याउने बताए। आफ्नो मात्र डम्फु बजाएर १५औं महाधिवेशन सुनिश्चित नहुने भन्दै उनले सबै नेता तथा कार्यकर्ता एउटै थलोमा उभिनुपर्नेमा जोड दिए। पार्टी सभापतिले आन्तरिक एकता प्रवद्र्धन गर्न र असन्तुष्ट नेताहरूसँग संवाद मार्फत निकास निकाल्न अग्रसरता लिइरहेको पनि उनले जानकारी दिए।
विशेषगरी असन्तुष्ट पक्षले उठाएका सम्मानजनक उपस्थितिका मागहरूबारे बोल्दै महामन्त्री घिमिरेले कतिपय व्यावहारिक मागहरू पूरा गर्न सकिने तर विधान विपरीतका सर्तहरू मान्न नसकिने बताएका छन् । निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति र केन्द्रीय समितिका केही स्थानहरूमा असन्तुष्ट पक्षका साथीहरूलाई समेट्न सकिने उनको भनाई छ।
यद्यपि, १४औं महाधिवेशन र विशेष महाधिवेशनको कार्यसमितिलाई समायोजन गर्ने वा १५औं महाधिवेशनका लागि ’आयोजक समिति’ गठन गर्ने जस्ता मागहरू सम्बोधन गर्न एकदमै गाह्रो हुने उनको भनाइ छ। नेपाली कांग्रेसमा आयोजक समिति बनाउने परम्परा र अभ्यास नरहेको भन्दै उनले पार्टीले आफ्नो मौलिकता र पहिचान जोगाएरै अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन्।