काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री केशव बडालले सुकुम्बासी बस्ती खाली गराउने र उनीहरूलाई २४ घण्टाको अल्टिमेटम दिएर हटाउने सरकार र महानगरको कदमको आलोचना गरेका छन्। नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुरा गर्दै नेता बडालले अधिकारप्राप्त युवा नेतृत्वमा ज्ञान भएपनि मानवीय विवेक शून्य रहेको टिप्पणी गरेका छन् ।
३०–४० वर्षदेखि बस्दै आएका गरिब जनतालाई विस्थापित गर्दा दुई जनाले आत्महत्या गरिसकेको र कैयौं मानसिक पीडामा पुगेको दाबी गर्दै उनले सुकुम्बासी बस्ती खाली गरिएको दृश्यलाई गाजा पट्टीको दृश्यसँग तुलना गरेका छन् । सरकारले काठमाडौंको एउटा कुनामा १५ हजार प्रहरीको हुल लगेर आतंकित पारेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहलक्षित टिप्पणी गर्दै बडालले औजारले तरकारी काट्नुको सट्टा मान्छेको टाउको काट्न नहुने भन्दै ज्ञानलाई विवेकले निर्देशित गर्नुपर्ने सुझाव दिए। विवेकहीन ज्ञानले हिरोसिमा र नागासाकीको जस्तो विनाश निम्त्याउने उनको चेतावनी छ। राज्यले राणाकालीन सामन्ती र जमिन्दारी मानसिकता देखाउँदै गरिबले दुःख गरेर कमाएको र घर बनाएकोमा डाहा गरेको आरोप लगाए।
यसैगरी, बडालले संसद्को बैठक बोलाएर हठात् फिर्ता गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारको प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्। उनले यस्तो कदमले नेतृत्वलाई आफ्नै निर्वाचित सांसदमाथि विश्वास नभएको जस्तो देखिएको तर्क गरेका छन् ।