Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्छः देवेन्द्र पौडेल

ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्छः देवेन्द्र पौडेल

  • बिहिवार, मंसिर १८ २०७७

  • 929
    SHARES

  • ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्छः देवेन्द्र पौडेल

    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्ने बताउनु भएको छ ।

    रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज बोल्दै पौडेलले एक पद छाड्ने बाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो। पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने उहाँको भनाई थियो ।

    ‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन,’ पौडेलले भन्नुभयो । पौडेलले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताउनुभयो । ‘पार्टी फुटाउनु हूँदैन, एक बनाउनैपर्छ,’ उहाँले भन्नुभयो।

    पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाई छ । उहाँले ओलीले पार्टीको निर्णय मान्नुपर्ने भन्दै पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताउनुभयो । ‘पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भुमिका खेल्नुपर्छ,’ पौडेलले भन्नुभयो । पौडेलले पार्टी विवादको समाधान जतिसक्दो निकाल्नुपर्नेमा जोड दिनुभयो । ओलीले समस्या समाधानको जिम्मा लिनुपर्ने समेत बताउनुभएको छ ।

    नेकपा विवादले संकटपूर्ण अवस्था सृजना गरेको भन्दै उहाँले अब समस्या समाधान गर्ने जिम्मा ओलीले लिनुपर्ने बताउनुभयो । सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेर मात्रै निकास निस्कने उहाँको भनाई थियो । त्यसका लागि ओली तयार हुनुको विकल्प नभएको पौडेलले बताउनुभयो ।

    दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उहाँको भनाई छ । प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको समेत उहाँले बताउनुभयो। छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने उहाँको तर्क छ । पौडेलले भन्नुभयो, ‘ओली र दाहालबीच मिल्नुको विकल्प छैन ।’

    फरक प्रसंगमा पौडेलले तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गर्नु गलत भएको बताउनुभएको छ । ‘लोकतन्त्र हाम्रो जीवनपद्धति हो, पौडेललाई नियन्त्रणमा लिन दुखद कुरा हो,’ उहाँले बताउनुभयो । वरिष्ठ नेतालाई सम्मान गर्नुपर्ने भन्दै उहाँले तनहुँको घटनामा पार्टीको संलग्नता नरहेको दावी गर्नुभयो । “पार्टीको संलग्नता छैन, जिल्ला प्रशासनको काम हो । कार्यक्रममा रोक लगाउनु हुँदैनथ्यो । निषेधाज्ञा जारी गर्नु गलत हो ।” उहाँले भन्नुभयो ।


    बिहिवार, मंसिर १८ २०७७०४:३५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij