काठमााडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले सस्तो लोकप्रियता र क्षणिक तालीका लागि सरकारले कुनै पनि नाटकीय कदम नचाल्ने, बरु सुशासन कायम गर्न र भ्रष्टाचार निर्मूल पार्न जरादेखि नै दिगो प्रहार गर्ने दाबी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको लोकप्रिय कार्यक्रम ’नेपाली बहस’मा बोल्दै पूर्व एआईजीसमेत रहेका सांसद पोखरेलले सरकारको कार्यशैली सुस्त भएको भन्ने जनगुनासोलाई खारेज गर्दै, जनमतको कदर गरेर सरकारले परिपक्व र त्रुटिरहित ढंगले एक्सन लिइरहेको स्पष्ट पार्नुभएको छ ।
पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री लगायतका ’हाइ–प्रोफाइल’ व्यक्तिहरू पक्राउ पर्ने तर तथ्य र प्रमाण नपुगेर अदालतबाट छुट्ने अवस्था आउनुमा विगतका सरकारका कमजोरी र हतारोलाई इङ्गित गर्दै पोखरेलले कानूनको नजरमा सबै समान हुने बताउनु भएको छ ।
अहिले सतहमा सुषुप्त देखिए पनि भित्री रूपमा भइरहेका यी सुधारका कामहरूले चाँडै नै जनतालाई प्रत्यक्ष अनुभूति दिलाउने उहाँको दाबी छ। प्रशासनको ढिलासुस्ती र अक्षमतालाई चिर्दै निष्पक्षता, पारदर्शिता र समानता कायम गर्न सरकार कुनै पनि दबाब वा प्रभावसामु नझुक्ने उहाँले बताउनुभयो ।
मुलुकको सार्वभौमसत्ता, अखण्डता र कूटनीतिक सम्बन्धलाई अत्यन्तै संवेदनशील रूपमा लिइएको बताउँदै पोखरेलले अन्तर्राष्ट्रिय सिमा र मर्यादाभित्र रहेर नेपालको स्वाधीनता मजबुत बनाउने दिशामा सरकार अघि बढेको जिकिर गर्नुभएको छ ।