काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले अदालतमा रहेको आधिकारिकता विवादले पार्टीका नियमित गतिविधि र १५औँ महाधिवेशनको तयारी नरोकिने स्पष्ट पार्नुभएको छ । नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग संवाद गर्दै नेता घिमिरेले अदालतले आफ्नो प्रक्रिया पूरा गरेर निर्णय गर्ने र पार्टी आफ्नो मार्गमा अगाडि बढिरहने बताउनुभएको छ ।
संसद्मा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेसले संसदीय दलको नेता चयन गर्न केही ढिलाइ भएको महामन्त्री घिमिरेले स्वीकार गर्नुभएको छ । तर यसका लागि निर्वाचन समिति गठन भइसकेको जानकारी दिँदै उहाँले केही दिनमा नै संसदीय दलको नेताको टुंगो लगाइने बताउनुभएको छ ।
त्यसैगरी, झण्डै ९ लाखको संख्यामा रहेका पार्टीका क्रियाशील सदस्यहरुको विवरण अध्यावधिक गर्नु अहिलेको एउटा चुनौती रहेको उहाँले बतानुभयो । विगतमा तदर्थवादी ढंगले काम भएको भन्दै अब सदस्यता लिने व्यक्ति स्वयं उपस्थित भएर निरन्तर पार्टीमा रहन चाहने प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिने उहाँको भनाई छ ।
पार्टीभित्र देखिएका समानान्तर गतिविधिहरूबारे बोल्दै महामन्त्री घिमिरेले लामो समय काम गरेका नेताहरुले यस्ता कार्यमा सुझबुझ र परिपक्वता प्रदर्शन गर्नुपर्ने धारणा राख्नुभयो । यद्यपि, पार्टीभित्र एकता र मेलमिलापका लागि सभापति र उपसभापतिलगायत सम्पूर्ण नेतृत्व आन्तरिक रुपमा प्रयासरत रहेको उहाँको भनाई छ ।
गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्नेहरुमाथि कारबाही गर्ने विषय र नयाँ क्रियाशील सदस्यताको मापदण्ड फरक–फरक विषय भएको भन्दै महामन्त्री घिमिरेले कुनै पनि प्रजातान्त्रिक संस्थामा दण्ड र पुरस्कारको व्यवस्था कडाइका साथ लागू हुनुपर्ने र निर्वाचनमा असहयोग गर्नेहरुमाथि अनुशासन समितिले छानबिन गरेर निष्पक्ष रुपमा कारबाही अगाडि बढाउने बताउनु भएको छ ।