काठमाडौँ । नेकपा (एमाले) का युवा नेता समिक बडालले वर्तमान सरकारले आफ्नो पार्टी अध्यक्षलाई प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको आरोप लगाउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा बोल्दै बडालले अदालतको पछिल्लो फैसलाले गिरफ्तारीमा कार्यपालिकाको प्रभाव देखिए तापनि यो कदम पूर्णतः प्रतिशोधयुक्त रहेको प्रमाणित भएको बताउनुभयो ।
अदालतले अध्यक्षको उमेर र स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थुनामा नराखी न्याय निरूपण गर्न दिएको आदेशको एमालेले सम्मान गर्ने बताउँदै बडालले सरकारले पुराना फाइलहरू खोल्ने र भ्रष्टाचार विरुद्धको अभियानका नाममा स्टन्ट मात्र देखाएको र जनतामा भ्रम सिर्जना गर्न खोजेको दाबी गर्नुभयो । उहाँले एमाले विरुद्ध लगाइएका प्रत्येक आरोपका फाइलहरू खोलेर कानुनी विधि अनुसार कारबाही अगाडि बढाउन सरकारलाई चुनौती समेत दिनुभएको छ ।
पार्टीको आगामी कार्यदिशाबारे चर्चा गर्दै नेता बडालले अब एमालेले युवा पुस्ताको अपेक्षा र निर्वाचनको परिणामलाई आत्मसाथ गर्दै सांगठनिक ’शल्यक्रिया’ गर्ने बताउनुभयो । पार्टीभित्रका कमजोरीहरूको समीक्षा गर्दै नयाँ ढङ्गले अघि बढ्ने उहाँको भनाई छ । अध्यक्षको रिहाइपछि पार्टी निर्माणको कामलाई तीव्र बनाइने र जनताका घरदैलोमा पुगेर सत्य तथ्य बुझाउने अभियान जारी रहने बताउँदै उहाँले एमालेले सडकमा ढुङ्गामुढा गर्ने जस्ता हिंसात्मक आन्दोलन भन्दा पनि जनतालाई जागरण गर्ने कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो ।
भिडियो हेर्नुहोस्