काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई व्यापक सुधार गर्दै नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनु भएको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा पुगेको सन्दर्भमा अदालतबाट आउने जुनसुकै निर्णयलाई सबैले निसर्त स्वीकार गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम बमसँग कुराकानी गर्दै खतिवडाले जसले चार तारे झण्डा र रुख चुनाव चिह्न प्राप्त गर्छ, त्यही नै आधिकारिक कांग्रेस हुने बताउनुभयो ।
व्यक्तिगत रूपमा कसले के पायो वा गुमायो भनेर हिसाबकिताब गर्नुभन्दा पनि समग्र पार्टी र राष्ट्रलाई कसरी मजबुत बनाउने भन्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै पार्टी सभापति गगन थापालाई सबै नेताहरूलाई एकै ठाउँमा राखेर अर्थपूर्ण संवाद गर्न र पार्टी एकतालाई मजबुत बनाएर लैजान सुझाव दिनुभएको छ। कांग्रेस नयाँ र पुराना सबै पुस्ताको साझा पार्टी भएकाले निषेधको राजनीति र गुटगत स्वार्थ त्यागेर संवादको माध्यमबाट सबैलाई जोड्नु नै अहिलेको प्रमुख आवश्यकता भएको उहाँको भनाई थियो ।
यस्तै वर्तमान सरकारले राष्ट्रको हितमा गर्ने हरेक सकारात्मक काममा कांग्रेसको पूर्ण समर्थन रहने भन्दै खतिवडाले काम गर्ने बहानामा कानुन र संविधानको मर्मविपरीत गएर कदम चालिएमा त्यसको कांग्रेसले सशक्त विरोध गर्ने चेतावनीसमेत दिनुभयो । सरकारका कामकारबाही कानुनसम्मत नभई प्रतिशोधी भावनाले प्रेरित भएमा त्यसले देशलाई फेरि अर्को गम्भीर संकटतर्फ धकेल्ने उहाँले बताउनुभयो । उहाँले सरकारले सम्पूर्ण नागरिक, राष्ट्र र संविधानलाई सर्वोपरि राखेर काम गर्नुपर्ने सुझाव दिनुभएको छ ।