Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

ओली र लेखकको बयान लिने तयारी, सिडिओ हाजिरी जमानीमा रिहा, कमजोर प्रतिपक्षीको रोनाधोना (खास खबर)

ओली र लेखकको बयान लिने तयारी, सिडिओ हाजिरी जमानीमा रिहा, कमजोर प्रतिपक्षीको रोनाधोना (खास खबर)

  • मंगलवार, चैत्र १७ २०८२

  • 214
    SHARES

  • ओली र लेखकको बयान लिने तयारी, सिडिओ हाजिरी जमानीमा रिहा, कमजोर प्रतिपक्षीको रोनाधोना (खास खबर)
    काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बयान भोलिदेखि सुरु हुने भएको छ । शनिवार बिहान पक्राउ परेका ओली र लेखकको बयान भोलिदेखि सुरु हुन लागेको हो ।
     
    ओली र लेखकको बयान जिल्ला प्रहरी परिसर काठमाडौँमा हुनेछ । जिल्ला प्रहरी परिसर काठमाडौँले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनले गरेको सिफारिसका आधारमा पक्राउ परेका ओली र लेखकको बयान एवं अनुसन्धान हुने परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो । 
     
    प्रतिवेदनले ज्यान मुद्दामा कारबाही गर्न सिफारिस गरेको छ । उनीहरूलाई जेनजी आन्दोलनका क्रममा भदौ २३ गते मृत्यु भएका रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडा खत्रीसमेतको जाहेरीले म्याद थप गरी हिरासतमा राखिएको हो । सोही जाहेरीमा टेकेर अनुसन्धान भइरहेको छ ।
     
    पक्राउपछि ओली स्वास्थ्य उपचारका सिलसिलामा त्रिवि शिक्षण अस्पतालमा र लेखक नेपाल प्रहरीको २ नम्बर गण सामाखुसीमा छन् । ओली र लेखकको बयान जिल्ला प्रहरी परिसर, भद्रकालीमै हुनेछ । ओली अस्वस्थ भएकाले म्याद थप अनलाइनबाट भएको थियो । तर, बयान अनलाइनबाट नहुने प्रहरीले जनाएको छ ।
     
    ओलीको स्वास्थ्यस्थितिका कारण भोली बयान नहुन पनि सक्ने र अर्को कुनै दिन गर्न सकिने प्रहरीले बताएको छ । भोलि बुधवार नै दुवैको बयान लिन सम्भव भएमा पर्सी बिहीबार म्याद थप गरिने भएको छ । जिल्ला अदालतले आइतबार ५ दिनको म्याद थप गरेको थियो ।
     
    जेनजी आयोगले ओली र लेखकसँगै पूर्वप्रहरी प्रमुख चन्द्र कुवेर खापुङ्ग र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छविलाल रिजाललाई पनि पक्राउ गरेर कारबाही गर्न सिफारिस गरेको छ । प्रहरीले आज काठमाडौँका तत्कालीन सिडिओ रिजाललाई पक्राउ गरेको छ । पक्राउ परेका रिजाल हाजिरी जमानीमा रिहा भएका परिसरका प्रवक्ता एसपी भट्टराईले जानकारी दिनुभयो । 
     
    प्रहरीले जेनजी आयोगको सिफारिस अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । अनुसन्धानमा पूर्ववर्ती नेपाली कांग्रेस र नेकपा एमालेका नेता तानिएका छन् । फागुन २१ को चुनावमा झन्डै दुई तिहाइ बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेतृत्वको सरकारसँग कमजोर प्रतिपक्षीको रोनाधोना सुरु भएको छ ।
     
    बालेन शाह नेतृत्वको सरकार गठन भएकै भोलिपल्ट ओली र लेखक पक्राउ परेसँगै कमजोर प्रतिपक्षीको रोनाधोना सुरु भएको हो । एमालेले सडकमा प्रदर्शन जारी राखेको छ भने कांग्रेस न्यायिक परीक्षणको पर्खाइमा छ । एमालेले सडकदेखि सदनसम्म आन्दोलन गर्ने निर्णय नै गरेको छ ।
     
    एमालेको सचिवालय बैठकले संसदमा अध्यक्ष ओली पक्राउको विरोध गर्दै विषय उठाउने निर्णय गरेको छ । सङ्घीय संसद्को बैठक चैत १९ गतेका लागि बोलाइएको छ । एमालेले अध्यक्ष ओलीलाई प्रतिशोध र पूर्वाग्रही ढङ्गले पक्राउ गर्ने काम भएको भन्दै राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले बताउनुभएको छ । सरकार राज्य आतङ्कतर्फ उन्मुख भएको सङ्केत गरेको महासचिव पोखरेलले बताउनु भयो । 
     
    चैत २४ गते सबै जिल्ला कमिटी वृहत् कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ । त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम छन् । वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन प्रदर्शन गर्ने कार्यक्रम तय भएको एमालेले बताएको छ । वैशाख १२ गते राजधानी काठमाडौँमा विरोध प्रदर्शन एवं सभा आयोजना हुनेछ ।
     
    एमालेले अध्यक्ष पक्राउको विरोधमा देशव्यापी आन्दोलन घोषणा गर्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने आफ्नै रमिता देखाउन मस्त बनेको छ । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिबाट टिकट लिएर चुनाव लडेका तर, पराजित भएकाहरूलाई बोलाएर कांग्रेसको शेरबहादुर देउवा आफ्नै विरुद्ध सिँगौरी खेल्न थालेको छ ।
     
    चुनावमा पराजित हुनुको कारण विशेष महाधिवेशन भएको दोष दिइरहेको छ । देउवा पक्षको गुट भेलामा सहभागी मान बहादुर नेपालीले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदासम्म विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई स्वीकार नगर्ने बताउनु भएको छ ।
     
    कांग्रेस आफूआफैंमा भिड्ने र एमाले सडकतिर ओर्लँदा सरकारलाई आफू अनुकूलका काम गर्न सहज बनेको देखिएको छ । संसद्मा सङ्ख्याका हिसाबले पनि कमजोर छन् कांग्रेस एमाले । विगतमा कम सङ्ख्यामा रहेका दलहरूलाई पेलेर अगाडि बढेका कांग्रेस एमाले यो पटक आफैँ पेलिनुपर्ने अवस्थामा पुगेका छन् ।
     
    त्यसो १० वर्ष सशस्त्र युद्ध लडेका पुष्पकमल दाहाल प्रचण्डको दल चौथो बनेको छ । यो चुनावमा पूर्वप्रधानमन्त्री मध्ये प्रचण्ड मात्रै निर्वाचित हुनु भएको छ । प्रचण्डले एक्लै भए पनि सरकारका राम्रो कामको समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनु भएको छ । 
     
    यसै त  सरकारसँग पौठेजोरी खेल्न सक्ने हैसियत गुमाएका पुराना दलका शीर्ष नेताहरू मध्ये कोही हिरासतमा छन्, कोही गुट चलाएर अस्तित्व खोजिरहेका छन् भने कोही आत्मसमिक्षा गर्न छोडेर कार्यकर्तालाई दोष थोपर्न व्यस्त छन् । प्रतिपक्षी दलहरूको आआफ्नै रोनाधानाले सरकारलाई आफू अनुकूल काम गर्न हाइसन्चो छ । 
     


    मंगलवार, चैत्र १७ २०८२०८:२२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij