तनहुँ । नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गर्नुभएको छ । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुग्नुभएको थियो ।
स्थानीय प्रशासनको अवरोधका कारण बुधबार अवरुद्ध भएको पुल उद्घाटन कार्यक्रम आज भएको हो । बुधबारका लागि उद्घाटन कार्यक्रम तय भएको भए पनि स्थानीय प्रशासनले अवरोध गरेपछि हुन सकेको थिएन । उद्घाटनका लागि जाँदै गरेका वेला प्रहरीले बरिष्ठ नेता पौडेलसहित दर्जनौ सहभागीलाई गिरफ्तार गरेको थियो ।
सरकारको निर्देशनमा स्थानीय प्रशासनले हिजो कार्यक्रम गर्न अवरोध गरेको थियो भने कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गरिएको थियो ।
कार्यक्रम गर्न नदिइ बरिष्ठ नेता पौडेलसहितका सहभागीहरुलाई गिरफ्तार गरिएपछि सर्वत्र विरोध भएको थियो ।
सर्वत्र विरोधपछि उद्घाटन गर्न चाहेकाहरुले आज उद्घाटन गरेका हुन भने स्थानीय प्रशासनले अवरोध नगरेको हो ।
उद्घाटन कार्यक्रममा अहिले हजारौँ सहभागी भएका छन् भने काँग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेललगायतका नेता सहभागी हुनुभएको छ ।
कार्यक्रमस्थलमा जानुअघि काँग्रेसले जिल्ला कार्यालय दमौलीमा भेला भएर विरोध जुलुश समेत निकालेको थियो ।
काँग्रेस नेता प्रकाशमान सिंह स्थानीय विकास मन्त्री हुँदा ०७३ सालमा शुरु भएको पुल निर्माण कार्य ०७५ मा सकिएर संचालनमा आएको थियो । निर्माण काम सकिएको दुई वर्षपछि उद्घाटन गर्न लाग्दा हिजो तनावपूर्ण अवस्था सिर्जना भएको हो ।
नेता पौडेललाई पराजित गरेका नेकपाका सांसद किसान श्रेष्ठको चाहना र योजना अनुसार पौडेललाई उद्घाटन गर्न अवरोध गरिएको काँग्रेस नेताहरुले आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अति निकटस्थ मानिनुहुने नेकपा सांसद श्रेष्ठ केही समयअघि जनता समाजवादी पार्टीका नेता डा.सुरेन्द्र यावदलाई नियन्त्रणमा लिएर पार्टी फुटाउन खोजेको घटनामा मुख्य पात्रका रुपमा विवादमा पर्नुभएको थियो ।