काठमाडौं । नेपाली कांग्रेसका नेता विजय स्वारले हालै सम्पन्न निर्वाचनको परिणामलाई हारको रूपमा मात्र नलिन आग्रह गर्नुभएको छ। आज बिहान नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम ’नेपाली बहस’मा पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता स्वारले पछिल्लो निर्वाचनको नतिजा सत्ताको लुकामारी र राजनीतिक दलहरू सत्ताकै अदल–बदलमा बढी अल्झिएका कारण सिर्जना भएको एक विशेष परिस्थिति भएको बताउनुभयो।
यसलाई हार भन्नुभन्दा पनि पछिल्लो समय जनतामा देखिएको एक किसिमको नयाँ लहरको रूपमा बुझ्नुपर्ने उहाँको तर्क छ। विशेष गरी फागुनमा भएको आम निर्वाचनमा मतदाताले उम्मेदवारको एजेण्डा र भिजनलाई भन्दा पनि रवि लामिछाने र बालेन शाह जस्ता पात्रहरूको व्यक्तित्व र चर्चालाई मात्रै हेरेर मतदान गरेकाले पुराना र स्थापित दलहरूको अवस्था केही कमजोर देखिएको उहाँले उल्लेख गर्नुभयो।
नेता स्वारका अनुसार पुरानो र लामो गौरवशाली इतिहास भएका पार्टीहरूले विगतमा गरेका आफ्नै कमजोरी र गल्तीका कारण आज यो अवस्था आएको हो। कतिपय राजनीतिक विश्लेषकहरूले यसलाई नेपाली कांग्रेसको विशेष महाधिवेशनको प्रभाव भनेर टिप्पणी गरे पनि यथार्थमा त्यस्तो नभई पुराना दलहरूले समयमै जनताको भावना बुझ्न नसक्दा त्यसको सजाय स्वरूप यस्तो नतिजा आएको उहाँको भनाइ छ। यति हुँदाहुँदै पनि नेपाली जनताले कांग्रेसलाई दोस्रो ठुलो शक्तिको रूपमा यथावत राखेकाले अब कांग्रेसले त्यही जिम्मेवार स्थानमा बसेर नागरिकका जल्दाबल्दा मुद्दाहरूलाई दृढताका साथ उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
पार्टी सभापतिको राजीनामाको विषयमा चर्चा गर्दै नेता स्वारले सभापतिले नैतिकताको उच्च कदर गर्दै आफ्नो पदबाट राजीनामा दिएको स्पष्ट पार्नुभयो। कुनै पनि राजनीतिक नेतृत्वले आफ्नो कार्यकालमा भएका हार वा कमजोरीको नैतिक जिम्मेवारी लिनु नै सबैभन्दा ठुलो र सकारात्मक कुरा भएको उहाँले बताउनुभयो।
तर, पार्टीको बहुमत कार्यसमितिले नै उक्त राजीनामालाई अस्वीकृत गरिसकेकाले अब सभापतिले नै पुनः जिम्मेवारी सम्हालेर पार्टीलाई थप मजबुत बनाउनु आवश्यक रहेको उहाँको धारणा छ। अबका दिनमा कांग्रेसका हरेक नेता र कार्यकर्ताले नागरिकका समस्याहरूसँग प्रत्यक्ष जोडिएर विगतका गल्तीहरूबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो।