काठमाडौं । प्रतिनिधि सभामा निर्वाचित २७५ सदस्य कानुन निर्माण गर्ने थलो संघीय संसद प्रवेश गर्न तम्तयार भएका छन् । निर्वाचन आयोगले समानुपातितर्फ निर्वाचित ११० सदस्यलाई प्रमाणपत्र प्रदान गरेसँगै प्रत्यक्षतर्फ निर्वाचित १६५ समेत गरेर २७५ सदस्य संसद प्रवेश गर्न तम्तयार भएका हुन् । आयोगले निर्वाचन परिणाम आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ ।
निर्वाचन परिणामसहितको प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागि परी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी प्रकट गर्नुभएको छ । निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको आफूले अनुभूत गरेको राष्ट्रपति पौडेलले बताउनुभयो । आयोगले यस अघि आजै समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।
जेनजी आन्दोलनपछि गत भदौ २७ गते विघटन भएको प्रतिनिधिसभामा अब नयाँ सदस्य प्रवेश गर्ने बाटो खुला भएको छ । संघीय संसद सचिवालयले निर्वाचित सदस्यहरुको शपथ ग्रहणको तयारी सुरु गरिएको जनाएको छ । शपथ अघि सचिवालयले राष्ट्रिय मान्यता प्राप्त दलहरुसँग छलफल पनि गरेको छ । सचिवालयले सांसदहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे गर्ने निश्चित गरेको छ ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रमशक्ति नेपाल पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ । सचिवालयले निर्वाचित सांसदहरुलाई अभिमुखिकरण पनि गराउने प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सरदरमा प्रति मतदाता २८४ रुपैयाँ खर्च भएको छ । भुक्तानी गर्न बँकी दायित्वसमेत हिसाब गर्दा जम्मा खर्च पाँच अर्ब ३७ करोड रुपैयाँ खर्च भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको आयोगले सांसदहरुसँग निर्वाचन व्यवस्थापन विधेयक पारित गर्न विन्ती गरेको छ । अढाई वर्षदेखि गृह मन्त्रालयमा थन्किएर बसेको यो विधेयक पारित नभए पुरानै डर्रामा चुनाव गराउनुपर्ने बाध्यता सुनाएको छ । स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले प्रस्ताव गर्नुभयो ।
आगामी १३–१४ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्नेछ भने प्रदेश सभा निर्वाचन २०८४ मंसिरमा गर्नुपर्ने छ । आयोगले डेढ वर्षअघि बनाएको विधेयकको मस्यौदा गृह मन्त्रालयमा थन्किएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले अबको प्रतिनिधिसभाले अड्किएर बसेको निर्वाचन व्यवस्थापन विधेयक पारित गर्नै पर्ने बताउनु भयो । नवनिर्वाचित सांसदहरूलाई २३ र २४ भदौको जेनजी आन्दोलनले विथोलेको समाजलाई लयमा ल्याउने काम गर्न आग्रह गर्न आग्रह गर्नु भयो ।
सांसदहरुसँग जनताको मात्रै होइन, नीति निर्माण तहमै रहेका अधिकारीहरुले पनि प्रस्ताव राख्न थालेका छन्, जसको सुरुवात निर्वाचन आयोगबाटै भएको छ । निर्वाचन परिणाम आएसकेकाले दलहरु नेता चुन्न लागेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेतामा ज्ञानेन्द्र शाहीलाई चुनेको छ । शाही प्रत्यक्षतर्फ निर्वाचित राप्रपाका एक मात्र सांसद हुनुहुन्छ ।
सबैभन्दा ठूलो दल रास्वपाले दलको नेता चुन्नेदेखि सरकार गठनबारे छलफल थालेको छ । सभापति रवि लामिछाने, बरिष्ट नेता बालेन शाह, उपसभापतिद्धय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेबीच सरकार गठनबारे आज छलफल भएको छ । रास्वपाको अभिमुखीकरण कार्यक्रममा अनुपश्थित बालेन साथमै रहेको तस्बिर राखेर रास्वपाले सरकार गठनबारे छलफल सुरु भएको जानकारी दिएको छ ।
रास्वपाले मात्रै होइन, प्रतिपक्षी कित्तामा पुगेका राप्रपा बाहेकका कांग्रेस, एमाले, नेकपा र श्रम शक्तिले संसदीय दलको नेता चुनेका छैनन् । रास्वपाले चुन्ने दलको नेता प्रधानमन्त्री बन्नेछन् ।
चुनावमा रास्वपाले बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेको थियो । त्यो घोषणामा तलमाथि नभए संविधानको धारा ७६ को उपधारा १ अनुसार बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ । अबको साता देशले नयाँ प्रधानमन्त्री पाउने लगभग निश्चित जस्तै देखिएको छ ।