Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सांसदहरुको शपथ ग्रहण अघिनै सरकार गठनको तयारी (खास खबर)

सांसदहरुको शपथ ग्रहण अघिनै सरकार गठनको तयारी (खास खबर)

  • शनिवार, फाल्गुण ३० २०८२

  • 408
    SHARES

  • सांसदहरुको शपथ ग्रहण अघिनै सरकार गठनको तयारी (खास खबर)

    काठमाडौं । निर्वाचन परिणाम आफ्नो पोल्टामा पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा जुटेको छ। भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिएका बालेन शाह चुस्त र छरितो मन्त्रिपरिषद् गठन गर्ने तयारीमा लागेका छन्।

    चुनावी परिणाम सार्वजनिक भएसँगै रास्वपाले सरकार सञ्चालनको खाका, मन्त्रालयको संरचना, प्राथमिकता र कार्ययोजना तयार पार्ने कामलाई तीव्र बनाएको बताएको छ।

    रास्वपाका नेताहरुका अनुसार सरकार गठनपछि तत्काल प्रभावकारी रूपमा काम सुरु गर्न सकिने गरी आन्तरिक छलफल, सम्भावित मन्त्रीहरूको चयन र नीतिगत प्राथमिकता तय गर्ने कामसमेत अघि बढाइएको छ।

    निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाए लगत्तै संविधानको धारा ७६ को उपधारा १ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुनेछ। आयोगले समानुपातिक तर्फ थ्रेसहोल्ड कटाएका ६ दललाई आइतबारसम्म बन्दसूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम पठाउन समय दिएको छ।

    दलहरुले नाम बुझाए लगत्तै प्रक्रिया पूरा गरी चैत ५ गतेभित्र समानुपातिकतर्फका निर्वाचित सांसदहरुलाई प्रमाणपत्र प्रदान गर्ने तयारी गरिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।

    अन्तिम परिणामपछि निर्वाचित सांसदहरुको शपथ ग्रहण हुनेछ। संघीय संसद सचिवालयले सांसदहरुको शपथ ग्रहणका लागि कम्तिमा ३–४ दिन समय आवश्यक पर्ने जनाएको छ। सचिवालयले परिणाम प्राप्त भए लगत्तै शपथ ग्रहण कार्यक्रमको तयारी सुरु गर्ने प्रवक्ता एकराम गिरीले जानकारी दिए।

    तर, रास्वपाले शपथ ग्रहण अघि नै सरकार गठनको तयारी अघि बढाएको छ। संविधानले राष्ट्रपति समक्ष बहुमत दाबी गर्ने प्रक्रिया खुला राखेकाले आवश्यक प्रक्रिया पूरा भए शपथ ग्रहण अगाडि पनि सरकार गठन हुन सक्ने अभ्यास यसअघि पनि भएको संसद सचिवालयका प्रवक्ता गिरीले जानकारी दिए।

    रास्वपाका नेताहरुले जनतासँग गरेको बाचा पूरा गर्ने गरी काम गर्ने दाबी गरेका छन्। जेनजी आन्दोलनका अभियन्ता समेत रहेका गोरखाबाट निर्वाचित सांसद सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आर्शिवार्द लिएको बताए।

    उनले सरकार गठनमा भन्दा पनि आफ्नो ध्यान काममा केन्द्रित रहेको बताए। जनतासँग गरेका बाचा अनुसार काम गर्न अहिलेदेखि नै मौन व्रत बसेर खटिएको उनले सुनाए।

    जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकार चुनाव सकेर बाहिरिदै छ। आन्दोलनको रापतापमा झण्डै दुई तिहाइ बहुमत ल्याएको रास्वपा भने अब सरकार निर्माणमा जुटेको छ।

    वर्तमान सरकार जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरी बिदा हुने तरखरमा रहेको छ। यो सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने देखिएको रास्वपा सांसद सुदन गुरुङले बताए।

    उनले अब बन्ने रास्वपाको सरकारले नै त्यो प्रतिवेदन सार्वजनिक गर्ने बताए। आफू मन्त्रिपरिषद्मा जाने नजाने अहिले कुनै टुंगो नलागेको पनि उनले सुनाए।

    चुनावी परिणामले रास्वपालाई प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनाएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद हुनेछन्। विगतमा वैकल्पिक शक्तिको रूपमा उभिएको रास्वपा अब राजनीतिक मूलधारमा पुगेको छ।

    रास्वपासमक्ष अब अरुलाई दोष दिएर उम्कने अवस्था विगतमा जस्तो नरहने देखिएको छ। त्यसैले जनता समक्ष गरेका बाचा पूरा गर्नुपर्ने जिम्मेवारीमा पुगेको रास्वपाले सरकार गठनअघि नै नीति, कार्यक्रम र कामको प्राथमिकता तय गर्ने गरी गम्भीर गृहकार्यमा जुटेको दाबी गरेको छ।


    शनिवार, फाल्गुण ३० २०८२०८:२२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij