Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

छ विषयमा मास्टर्स, अर्थशास्त्रमा पीएचडी होल्डर बुढाथोकी रामेछाप–१ बाट प्रतिनिधि सभामा विजयी

छ विषयमा मास्टर्स, अर्थशास्त्रमा पीएचडी होल्डर बुढाथोकी रामेछाप–१ बाट प्रतिनिधि सभामा विजयी

  • बिहिवार, फाल्गुण २८ २०८२

  • 1.1K
    SHARES

  • छ विषयमा मास्टर्स, अर्थशास्त्रमा पीएचडी होल्डर बुढाथोकी रामेछाप–१ बाट प्रतिनिधि सभामा विजयी

    काठमाडौं । रामेछाप जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा डा. कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्। अर्थशास्त्र विषयमा विद्यावारिधि (पीएचडी) तथा छ वटा विषयमा स्नातकोत्तर गरेका बुढाथोकी उच्च शैक्षिक योग्यता र बौद्धिक क्षमताका कारण चर्चित व्यक्तित्वका रूपमा परिचित छन्। नेपालको संसदीय राजनीतिमा यति धेरै विषयमा स्नातकोत्तर अध्ययन गरेका प्रतिनिधि दुर्लभ मानिन्छन्।

    वित्तीय क्षेत्रमा २० वर्षभन्दा लामो कार्यअनुभव हासिल गरेका डा. बुढाथोकी वित्तीय प्रणालीका समस्या र समाधानका विषयमा अनुसन्धानमूलक कार्यमा सक्रिय रहँदै आएका छन्। बैंकिङ तथा आर्थिक नीतिका विषयमा गहिरो अध्ययन गर्दै आएका उनले अर्थतन्त्र, विकास नीति तथा नेतृत्वसम्बन्धी बहसलाई शैक्षिक र नीतिगत तहमा अगाडि बढाउने काम गरेका छन्।

    गाउँ र शहर, देश र विदेशलाई जोड्दै आफ्नो गाउँ र राष्ट्रमा जहाँसुकैबाट पनि सकारात्मक योगदान दिन सकिने सोचका साथ उनी सामाजिक जागरणका विभिन्न अभियानमा सक्रिय छन्। मानवीय सेवा र सामाजिक सद्भावलाई जीवनको मूल मन्त्र मान्ने उनले “यो जीवन मूल्यवान छ, मृत्यु निश्चित छ, तर मानवतामूलक सेवा अमर हुन्छ” भन्ने दर्शनलाई आत्मसात गर्दै निरन्तर सामाजिक र मानवीय अभियान सञ्चालन गर्दै आएका छन्।

    पछिल्लो एक दशकदेखि उनले “रामेछाप विकास बहस” कार्यक्रम सञ्चालन गर्दै समृद्ध रामेछाप निर्माणका लागि उद्यमशीलता विकास, उत्पादन तथा उत्पादकत्व वृद्धि, बजारीकरण तथा शिक्षालाई सीपसँग जोड्ने विषयमा जागरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छन्। साथै सद्भाव फाउन्डेशन नेपाल मार्फत सद्भाव, सहकार्य र मानवताको सन्देश फैलाउने अभियान पनि अघि बढाइरहेका छन्।

    शैक्षिक रूपमा उनी अत्यन्तै समृद्ध पृष्ठभूमि भएका व्यक्तित्व हुन्। उनले अर्थशास्त्रमा पीएचडी र अंग्रेजी विषयमा एमफिल गरेका छन् भने अर्थशास्त्र, अंग्रेजी, व्यवस्थापन, समाजशास्त्र, राजनीतिशास्त्र र जनप्रशासन गरी छ वटा विषयमा स्नातकोत्तर डिग्री हासिल गरेका छन्। बहुविषयक अध्ययनका कारण उनलाई अर्थतन्त्र, समाज, राजनीति र शासन प्रणालीलाई समग्र रूपमा विश्लेषण गर्न सक्ने बौद्धिक नेताका रूपमा पनि हेरिन्छ।
    डा. बुढाथोकी विभिन्न पुस्तकका लेखक पनि हुन्। उनका प्रकाशित कृतिहरूमध्ये “समृद्ध नेपालको घोषणापत्र” र “समृद्ध रामेछापको मार्गचित्र” उल्लेखनीय मानिन्छन्, जसमा दिगो विकास, स्थानीय स्रोतको उपयोग र समृद्ध समाज निर्माणका अवधारणाहरू प्रस्तुत गरिएको छ।

    उच्च शैक्षिक योग्यता, लामो व्यावसायिक अनुभव र सामाजिक अभियानको पृष्ठभूमिसहित प्रतिनिधि सभामा पुगेका डा. बुढाथोकीले रामेछापको समग्र विकास, सुशासन, सामाजिक न्याय सहित समृद्ध नेपाल, उद्यमशीलता प्रवद्र्धन, उत्पादनमुखी अर्थतन्त्र निर्माण तथा युवामुखी अवसर सिर्जनालाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्।


    बिहिवार, फाल्गुण २८ २०८२१०:२१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij