विवेकशील नेपाल दलका दुईजना पदाधिकारीसहित १३ जना संघीय समिति सदस्य साझासँगको एकतामा सहभागी नहुने भएका छन् ।
पार्टी एकताका लागि साझा र विवेकशीलका वार्तासमितिबीच एकता गर्ने सहमति गरेपछि विवेकशीलकी उपाध्यक्ष अजीता राई र सचिव कार्यालय व्यवस्थापनतर्फ संगीता बटाजुलगायत १३ संघीय समिति सदस्यले अब बन्ने विवेकशील साझा पार्टीमा सहभागी नहुने निर्णय गरेका हुन् ।
१३ जनाले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै अब बन्ने विवेकशील साझालाई शुभकामना व्यक्त गर्दै दुई दलबीचको मतभिन्नताका विषयलाई नटुङ्ग्याइ गरिएको एकतामा सहभागी हुन नसक्ने बताएका हुन् ।
उनीहरुले अब फेरि पार्टी दर्ताका लागि आफुहरुको विचारसँग सहमत हुनेहरु बीच छलफल गरी छिट्टै अगाडि बढ्ने बताएका छन् ।
विवेकशीलको संघीय समितिमा जम्मा ३५ जना रहेका छन् । जसमा १३ जनाले एकतामा सहभागी नहुने भएपछि अब २२ जनामात्रै विवेकशील साझामा रहनेछन् ।
रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुने गरी साझा र विवेकशीलबीच एकता गर्ने सहमति भइसकेको छ ।