Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सबैभन्दा बढी मत पाउने रविको रेकर्डमा बालेनको ब्रेक, ओलीको दम्भ पराजित (खास खबर)

सबैभन्दा बढी मत पाउने रविको रेकर्डमा बालेनको ब्रेक, ओलीको दम्भ पराजित (खास खबर)

  • शनिवार, फाल्गुण २३ २०८२

  • 375
    SHARES

  • सबैभन्दा बढी मत पाउने रविको रेकर्डमा बालेनको ब्रेक, ओलीको दम्भ पराजित (खास खबर)

    काठमाडौं - प्रतिनिधिसभा चुनावी नजिता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पोल्टामा जाने निश्चित देखिएको छ। रास्वपाले कुनै पनि दलसँग गठबन्धन नगरी एकल रूपमा सरकार बनाउन पाउने परिणाम ल्याउने निश्चित प्राय देखिएको हो। यसअघिको सहमतिमा दायाँबायाँ नभए प्रधानमन्त्रीको रूपमा बालेन शाह नियुक्त हुनेछन्। 

    बालेन सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्। झापा ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै बालेनको पहिलो संसद् यात्रा सुरु भएको छ। बालेनले ३ हजार ४०६ उम्मेदवारमध्ये सबैभन्दा बढी ६८ हजार ३४८ मत ल्याएर रेकर्ड पनि राखेका छन्। 

    प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ मत मात्र पाए।  पटकपटक झापाबाट निर्वाचित हुँदै आएका ओली यो पटक नराम्रो पराजय भोग्न बाध्य भए। ओलीको दम्भले हारेको छ। बालेनका समर्थकले खुसीयाली मनाएका छन्। 

    जेनजी आन्दोलनलाई विध्वंसको संज्ञा दिने ओलीलाई जेनजी आन्दोलनका सूत्रधार बालेनले चुनावमा हराइदिए। ओलीले सामाजिक सञ्जालबाट बालेनलाई बधाई दिएका छन्। 

    'बालेन बाबु विजयका लागि तपाईँलाई बधाई, तपाईँको पाँच बर्षे कार्यकाल निर्विघ्न सफल रहोस्,' ओलीले सामाजिक सञ्जालमा लेखेका छन्। 

    रास्वपाको सहमतिमा विवाद नभए बालेन देशभरको निर्वाचन परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री बन्नेछन्।  सङ्गठित अपराध र सम्पत्ति सुद्धिकरणको मुद्दा अदालतहरूमा विचाराधीन रहेकाले सभापति रवि लामिछाने शपथ ग्रहणसँगै निलम्बनमा पर्नेछन्। 

    तर, रास्वपाका नेताहरूले निलम्बन गर्न नहुने तर्क यसअघिको प्रतिनिधिसभामा जोडतोडले उठाउँदै आएका थिए भने अहिले पनि त्यो आवाज उठाइरहेका छन्। 

    सहकारीको रकम ठगी मुद्दामा जेल परेका रवि जेनजी आन्दोलन पछि बिगो बराबरको धरौटी रकम बुझाएर रिहा भएका थिए। जेलबाट रिहा भएका लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका हुन्। 

    लामिछानेले रास्वपाको सरकार बनेको एक सय दिनमा सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता पनि जनाएका छन्। 

    रविसँगै सहकारीमा ठगीमा नाम जोडिएका जिवी राई फरार छन्। अघिल्लो सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका रविले जिवीलाई पक्राउ गरेर ब्रेकिङ न्युज दिने बताएका थिए। तर, जिबी हालसम्म फरार नै छन्। 

    रविले यसअघिको चुनावमा देशभरबाट सबैभन्दा बढी मत ल्याएर रेकर्ड राखेका थिए। रविको त्यो रेकर्ड बालेनले झापाबाट तोडिदिएका छन्। 

    लामिछाने ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम चलाउँदा चलाउँदै राजनीतिमा लागेर उदाएका नेता हुन्। रविको नाम जोडिएको टेलिभिजनका पत्रकारले भने ८ नौ महिना देखि तलब नपाएको गुनासो रविसँगै राखेका छन्। 

    जिवी राईलाई पक्राउ गरेर पारिश्रमिक दिलाइदिन पत्रकारले गरेको गुनासोमा रविले गोलमटोल जवाफ दिए। श्रमजीवी पत्रकारले पारिश्रमिक पाउनु पर्ने भए पनि जिवी राई पक्राउ गर्ने कुरा फरक भएको रविले जिकिर गरे। 

    रास्वपाका सभापति लामिछाने काण्डै काण्डैमा मुछिएका छन्। यसअघि नागरिकता विवाद, पासपोर्ट हुँदै सहकारीको रकम ठगी मुद्दा खेपिरहेका लामिछानेलाई पार्टीको बहुमत भारी पर्ने देखिएको छ। रविको मात्रै होइन, रास्वपाका अन्य उम्मेदवार पनि काण्डैकाण्डैमा मुछिएको पाइएको छ।

    बैङ्किङ कसुर मुद्दा विचाराधीन रहेका धनुषा १ का उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेज भएको छ। तर, रास्वपाले उम्मेदवारी कायम राखेर मतगणना गर्नुपर्ने जिद्धि गर्दा मतगणना सुरु गर्न ढिलाइ भयो। 

    रास्वपा उम्मेदवार किशोरीले प्राप्त गरेको मतलाई छुट्टै लगत राखेर गणना सुरु गरिएको धनुषाका निर्वाचन अधिकृत मनोज बरालले जानकारी दिए।  

    यसले रास्वपा कुशासनको पक्षमा उभिने कि सुशासन गम्भीर प्रश्न खडा गरेको छ। तर, रास्वपाबाट दोस्रो पटक संसद् यात्रा गर्नु भएकी तोसिमा कार्कीले भदौ २३ र २४ को जस्तै अर्को विद्रोह नहोस् भन्नेमा सचेत रहेको बताए। उनले जेनजी आन्दोलनको म्यान्डेट पुरा गरी भ्रष्टाचार अन्त्य गर्ने रटान लगाइन।  

    यो चुनावमा पार्टी भित्रै रस्साकस्सी गर्दै आएका जेनजी आन्दोलनलाई समर्थन गरेका भनौँ आत्मसात् गरेका उम्मेदवारहरूलाई रास्वपाले उम्मेदवारमै सीमित बनाइदिएको छ। 

    निर्वाचन क्षेत्र बदलेका कारण मात्र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मात्र जित निकाल्न सफल भए। 

    केपी ओलीसँग सिङौरी खेल्दा नेकपा एमालेको साधारण सदस्यबाट निष्कासित भीम रावलको संसद् प्रवेशको ढोका बन्द भएको छ। 

    अछामबाट चुनाव लडेका रावलले राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको झन्डालाई औपचारिक रूपमा संसद्को भवनमा फहराउन नसक्ने भएको प्रतिक्रिया दिए। 

    अब बहुमत ल्याउने लगभग निश्चित जस्तै देखिएको रास्वपाले सरकारले गठन गर्नेछ। सरकार गठनसँगै कामको मूल्याङ्कन हुनेछ। पक्कै जनताको आशा सुशासन कायम गरी भ्रष्टाचार अन्त्य गर्ने जेनजी आन्दोलनको म्यान्डेट र जनतासमक्ष गरेको बाचा अनुसार रास्वपाको नयाँ सरकारले काम गर्ने अपेक्षा छ।  

     


    शनिवार, फाल्गुण २३ २०८२०९:०३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij