काठमाडौं । राजनीतिक दल र उम्मेदवारहरु आश्वासनको पोको लिएर मत माग्न व्यस्त बनेका छन् । नयाँ प्रतिनिधिसभाको चुनाव आउँन ९ दिन मात्रै बाँकी रहँदा दल र उम्मेदवारहरु घाटी सुक्ने गरी चिच्याइरहेका छन् । मतदाताको घर आँगनमा पाहुना जस्तै पुगिरहेका छन् । कोही गुलिया, चिल्ला कुरा सुनाइरहेका छन् त कोही खरानी घसेर नयाँ बनेको चटक देखाइरहेका छन् । सचेत मतदाताको प्रश्नको जवाफ दिन भने दल र उम्मेदवारहरुलाई हम्मेहम्मे परिरहेको छ ।
चुनाव प्रचारप्रसारको दिन छोटिदै जादाँ दलहरुलाई सभा गर्न पनि भ्याइनभ्याई भएको छ । चुनावमा ६८ दलले भाग लिएका छन् । ३ हजार ४ सय ६ उम्मेदवार प्रतिष्पर्धामा छन् । तर, प्रचारप्रसारमा भने केही पुराना र नयाँ भनिएकाहरुकै हालिमुहाली देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पाटीै, जसपा, जनमतको दलीय र उम्मेदवारको प्रचारले अन्य दल र उम्मेदवारलाई छायाँमा पारेको देखिएको छ ।
अन्य दलका असन्तुष्टहरुलाई आकर्षिक गर्ने नारा घन्काएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भिड देखाउने प्रतिष्पर्धामा उत्रिएको छ । वरिष्ट नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावी प्रचारमा दौडिएको रास्वपामा आन्तरिक खटपट भने देखिन थालेको छ । हिजो हेटौंडाको चुनावी सभामा बालेन अनुपश्थित हुनु भयो । आज सुनसरीको सभामा भने बालेन सहभागी त हुनु भयो तर, मञ्च शेयरमा रविँगग मुखामुख मात्रै गरेको तस्बिर भाइरल बनेको छ ।
कांग्रेसको अबकी बार गगन सरकार र रास्वपाको अबकी बार बालेन सरकारको नारा गुन्जिएका छन् । सच्चिएको कांग्रेसले तत्कालिन माओवादी १० वर्षे सशस्त्र युद्धपछि २०६४ मा जस्तो लहैलहैमा लागेर मत बदल्ने गल्ती नगर्न भनेको छ । सुनसरीमा आयोजित चुनावी सभामा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विवेक पुर्याउन मतदातालाई आग्रह गर्नु भयो ।
चुनावी प्रतिष्पर्धा दुई दलबीच हुने जस्तो दृष्य देखिएका छन् ।
नेकपा एमालेलाई छेडखानी गर्दै आएको रास्वपा अहिले कांग्रेस लक्षित अभिव्यक्ति दिन थालेको छ । यसअघिका सरकारले काम नगरेको विफ्रिङ गर्दै रास्वपा २०६४ मा माओवादीले जस्तै भोट बटुल्ने रणनीतिमा लागेको छ । काठमाडौं महानगरपालिकाको मेयर पद कार्यकाल पुरा नहुँदै छोडेर प्रधानमन्त्री बन्न दौडिनु भएका बालेन शाह समर्थकको जवाफमा होइन आफ्नै बनावटी उत्तर सुनाइरहनु भएको छ ।
सुनसरीको सभामा समर्थकले तरकारी इटहरीकै खाएको जवाफ दिए पनि बालेनले बोर्डर अर्थात सीमापारीको भनेर विगतका सरकारप्रति सांकेतिक आरोप लगाउनु भएको छ ।
बालेन बोल्दै जाने र रवि बालेनकै विवादित अभिव्यक्ति सच्याउन समय खर्चिरहनु भएको छ । केही दिन निर्माण व्यवसायीलाई रुखमा झुण्ड्याउने बालेनको अभिव्यक्तिलाई रविले आज सच्याउनु भएको छ ।
उद्योगी व्यवयासीले रास्वपाले चन्दा आतंक मच्याएको समेत आरोप लगाएका छन् । त्यसको पनि रास्वपाका बरिष्ट नेता बालेनले घुमाउरो पारामा अब चन्दा दिनु नपर्ने जवाफ दिनु भएको छ ।
रास्वपाका नेताहरुको अभिव्यक्ति एकपछि अर्को विवादित बनेका छन् । शिक्षकहरुको संगठन बनाउन नदिने चुनावी घोषणा पत्र पनि विवदित बनेको छ । तर, त्यसलाई रास्वपा सभापति रवि लामिछानेले राजनीति गर्ने ठेक्का आफूहरुलाई दिन भन्नु भएको छ ।
जेनजी आन्दोलनपछि हुन लागेका चुनावमा दल र नेताहरुले केही नयाँ र अधिकांश पुरानै नारा घन्काइरहेका छन् । मतदाताले दल र उम्मेदवारका नाँडी छामिरेहका छन् ।
मतदाताले निर्वाचित गराएका पठाएका प्रतिनिधिले २०४६ साल यता पुरा कार्यकाल विताएको रेकर्ड छैन । २०७४ को चुनावमा दुईतिहाइको बहुमत पाएको तत्कालिन नेकपाले समेत पुरा कार्यकाल सरकारको नेतृत्व गर्न सकेन । मतदाताको मतलाई चुनावमा विजयी हुने मात्रै लक्ष्य राख्दा अस्थिरता हालसम्म पनि कायम छ ।
फागुन २१ को चुनावमा पनि मतदाताले विवेक नपुर्याए अबको १० वर्ष पछि फेरी अर्को विद्रोह नहोला भन्न नसकिने नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुनाउनु भएको छ ।
चुनाव आउँछ जान्छ । सबै उम्मेदवार विजयी पनि हुँदैनन् । निर्वाचित हुने भनेको १६५ जना प्रत्यक्षतर्फका हुन भने समानुपातिकतर्फ ११० जना गरी जम्मा २७५ सदस्य प्रतिनिधिसभा सदस्य चुनिन्छन् । चुनाव जित्नका लागि दल र उम्मेदवारहरुले दिने आश्वासनलाई होइन, वास्तविकतामा ध्यान दिएर मतदाताले विवेक प्रयोग गर्नु नै चुनावको सुन्दर पक्ष हो । यही बेला हो प्रश्न गर्ने र जवाफ माग्ने । त्यसैले आफू प्रष्ट भएर, जानी बुझेर आफ्नो अमुल्य मतदान गर्न मतदाता सचेत बन्नैपर्छ ।