Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ठूला दलका घोषणापत्र सार्वजनिक, कागजमै सीमित नरहून् भन्ने जनअपेक्षा, कार्यान्वयन दलका लागि सबैभन्दा ठूलो परीक्षा (खासखबर)

ठूला दलका घोषणापत्र सार्वजनिक, कागजमै सीमित नरहून् भन्ने जनअपेक्षा, कार्यान्वयन दलका लागि सबैभन्दा ठूलो परीक्षा (खासखबर)

  • बिहिवार, फाल्गुण ७ २०८२

  • 395
    SHARES

  • ठूला दलका घोषणापत्र सार्वजनिक, कागजमै सीमित नरहून् भन्ने जनअपेक्षा, कार्यान्वयन दलका लागि सबैभन्दा ठूलो परीक्षा (खासखबर)

    काठमाडौं । निर्वाचन आउन अव १४ दिन बाँकी रहँदा ठुला दलका घोषणापत्र सार्वजनिक भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ठुला राजनीतिक दलहरूले आ–आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

    आज नेकपा एमालेले काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसले जनकपुरमा भएको प्रतिज्ञासभावाट प्रतिज्ञापत्र ल्याएको छ । चुनावी घोषणापत्रलाई नेपाली कांग्रेसले प्रतिज्ञापत्रको नाम दिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्रलाई चुनावी वाचा पत्रको नाम दिएको छ । रास्वपाले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित एक विशेष समारोहका बीच वाचापत्र सार्वजनिक गरेको हो ।

    ठूला दलहरुले आफ्ना घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण र सुशासन मुख्य एजेण्डा बनाएका छन् भने स्वदेशमै रोजगारी सिर्जनादेखि सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्नेसम्मका आश्वासन दिएका छन् ।

    घोषणापत्रमार्फत दलहरूले सुशासन, रोजगारी, आर्थिक सुधार, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेका छन् ।

    सार्वजनिक गरिएका घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, उद्योग प्रवद्र्धन, महँगी नियन्त्रण तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। साथै संविधान कार्यान्वयन, संघीयता सुदृढीकरण र सेवा प्रवाह सुधारमा जोड दिइएको छ।

    नेपाली कांग्रेसले ५ वर्षभित्र भ्रष्टाचारमुक्त मुलुक बनाउने उद्घोष गरेको छ । चुनावी प्रतिज्ञामा सवाल–जवाफ कार्यक्रममा बोल्दै सभापति गगन थापाले पार्टीको पहिलो प्राथमिकता भ्रष्टाचारमुक्त मुलुक बनाउने भएकाले भ्रष्टाचार गरेमा नेता पनि नहेर्ने, नाता पनि नहेर्ने बताउनुभएको हो ।
    यस्तै उहाँले प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गरिने पनि बताउनुभएको छ । अब कांग्रेसले संवैधानिक आयोग, विश्व विद्यालयलगायतमा दलीय भागबन्डा नखोज्ने उहाँको भनाई छ ।

    कांग्रेसले ०४८ सालपछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने प्रस्ताव अघि सारेको छ । १० लाख सम्म आम्दानी हुनेलाई एक रुपैया पनि कर नलगाउने कांग्रेसको प्रतिज्ञापत्रमा छ ।

    दलका नेताहरूले घोषणापत्र कार्यान्वयन योग्य र यथार्थपरक रहेको दाबी गर्दै जनताको विश्वास जित्ने आधार भएको बताएका छन् । उनीहरूले घोषणापत्रलाई केवल कागजी प्रतिबद्धतामा सीमित नराखी कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

    फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न ‘एमालेले बनाउँछ’ भन्ने मूल नारासहित आफ्नो संकल्प ल्याएको छ । घोषणापत्रमा एमालेले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको रक्षालाई मुख्य प्राथमिकतामा राखेको छ ।

    घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब र १० वर्षमा २०० खर्ब पु¥याउने तथा नेपालीको प्रतिव्यक्ति आय ५ वर्षमा ३ हजार अमेरिकी डलर पु¥याउने महत्त्वाकाङ्क्षी आर्थिक लक्ष्य राखिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रमा मुलुकको आर्थिक अवस्था सुधार, सुशासनको ग्यारेन्टी र सेवा प्रवाहमा आमूल परिवर्तनका लागि १०० वटा मुख्य बुँदाहरू समेटिएका छन् ।

    रास्वपाले चुनावी वाचा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरेको छ । पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति स्वर्णिम वाग्लेसहितका शीर्ष नेताहरूले संयुक्त रूपमा वाचा पत्रको अनावरण गर्न‘भएको थियो ।
    रास्वपाले सहकारी र लघुवित्तको लगानीलाई प्राथमिकीकरण गर्ने जनाएको छ । यस्तै भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा डिजिटल प्रणालीको विस्तार, युवालाई उद्यमशीलतामा प्रोत्साहन, स्थानीय उत्पादनको बजारीकरण र कर्णालीमा विशेष पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

    फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचन विशेष परिस्थिति र छोटो समयमा तय भएको निर्वाचन हो । यस पटक धेरैजसो दलले घोषणापत्र ढिला सार्वजनिक गरे । साना दलहरुले अलि छिटो ल्याए पनि ठुला दलहरुले आजसम्म बल्ल घोषणापत्र ल्याएका छन् ।
    अव १४ दिन मात्र मतदान गर्ने मिति छ। दलका लागि प्रचार प्रसारको समय पनि धेरै दिन छैन ।

    त्यसपछि मौन अवधि सुरु हुन्छ । समयमै घोषणापत्र नआउँदा मतदाताको निर्णय क्षमतामा असर पर्छ कि भन्ने प्रश्न पनि छ । पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव विशेष परिस्थिति र छोटो समयमा तय भएको निर्वाचन भएकाले घोषणापत्र ढिला आउनुमा अन्यथा मान्न नहुने बताउनुहुन्छ ।

    दलले ल्याएका घोषणापत्रबीच धेरै समानता पनि देखिएका छन् । जहिले पनि घोषणापत्रको कार्यान्वयन पक्ष नै मुख्य चुनौती हुने गर्दछ । आकर्षक नारा र योजनाभन्दा पनि व्यवहारिक कार्ययोजना, स्रोत व्यवस्थापन र राजनीतिक इच्छाशक्ति नै घोषणापत्र सफल कार्यान्वयनका आधार हुन् ।

    दलले सार्वजनिक गरेका चुनावी घोषणापत्र कागजमै सीमित नरहून् भन्ने अपेक्षा जनताले गरेका छन् । त्यसका लागि घोषणापत्रलाई व्यवहारिक, समयबद्ध र स्रोतसाधनसंग मेल खाने गरी कार्यान्वयन योजना बनाइनुपर्छ । प्रतिवद्धता पूरा गर्न स्पष्ट कार्ययोजना, बजेट सुनिश्चितता, जिम्मेवारी बाँडफाँड र नियमित अनुगमन आवश्यक देखिन्छ ।


    बिहिवार, फाल्गुण ७ २०८२०८:१६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij