काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर चुनावी गतिविधि तीव्र रुपमा भईरहेका छन् । निर्वाचनका लागि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएसँगै राजनीतिक दलहरूले देशभर चुनावी सभा र घरदैलो कार्यक्रमलाई तीव्र बनाएका हुन् ।
नेपाली कांग्रेसले आज जनकपुरधामस्थित तिरुहुतिया गाछीमा प्रतिज्ञा सभा गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले आजै सुदूरपश्चिमको राजधानी धनगढीमा परिवर्तन उद्घोष सभा नाम दिएर चुनावी सभा गरेको छ ।
कांग्रेसले जनकपुरमा आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो । सभापति थापाले पार्टीको घोषणापत्रको रुपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गर्नुभएको हो । कांग्रेसले परिकल्पना गरेको नेपालमा नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गर्दै हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने ‘सम्मानित नेपाल’ निर्माण गर्ने पार्टीको योजना छ ।
भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा ढिलासुस्ती अन्त्य गरी नागरिकले घरमै बसेर सेवा पाउने प्रबन्ध मिलाउने उल्लेख गरिएको छ ।
प्रतिज्ञापत्रको विस्तृत अंश भने भोलि राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने भएको छ ।
औपचारीक प्रचार प्रसारको तेस्रो दिन आज चुनावी सभामा दलका शीर्ष नेताहरूले आफ्ना एजेन्डा प्रस्तुत गर्दै मतदातासँग समर्थन मागेका छन् ।
जनकपुरधामस्थित तिरुहुतिया गाछीको प्रतिज्ञा सभामा सम्वोधन गर्दै कांग्रेस सभापति गगन थापाले अब नकाव लगाएर कसैले पनि सिंहदरबार जलाउने नपाउने बताउनुभएको छ । सभापति थापाले भदौ २३ जसरी युवा राज्यको गोलीले नमारिने प्रतिज्ञा गर्नुभएको छ । कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पर नसर्ने प्रतिज्ञा सभापति थापाको छ ।
असन्तुष्ट भई टाढिएका तथा भुलेर–भट्किएका कांग्रेस कार्यकर्ता पुनः पार्टीमै फर्किएको र अहिले सबै मिलेर एकजुट रूपमा अघि बढिरहेको अवस्था रहेको जनकपुरको सभा मार्फत कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई सन्देश दिएको छ ।
नेपाली कांग्रेसको जनकपुरबाट सुरु भएको पहिलो चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस स्थापनादेखि बलियो बनाएर देशको नेतृत्व गर्न मधेसले नै पु¥याएको बताउनुभयो ।
आजै सुदूरपश्चिमको राजधानी धनगढीमा परिवर्तन उद्घोष सभा नाम दिएर राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी सभा गरेको छ । धनगढी सभामा रास्वपाले परिवर्तन र जवाफदेहितालाई मुख्य मुद्दा बनाएको छ ।
सभापति रवि लामिछानेले बेथितिको सटर एकैपटक बन्द गर्ने गरी आफूहरू राजनीतिमा आएको बताउनुभयो । राजनीतिक दलले चुनावमा गरेको बाचा पूरा नगर्दा जनताले दुःख पाउने अवस्था अन्त्य गर्न पनि रास्वपा अघि बढेको दावी सभापति लामिछानेको छ ।
धनगढीको सभालाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सुदूरपश्चिमको विकास र समृद्धिको सपना पूरा गर्ने एक मात्र शक्ति रास्वपा भएको दाबी गर्नुभयो ।
रास्वपा वरिष्ठ नेता शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताउनुहुन्छ । उहाँले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने पनि बताउनुभयो ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताभित्र रहेर प्रचार गर्न निर्देशन दिएको छ । प्रचार अवधिमा भड्किलो भाषण, झुट्टा आश्वासन, नकारात्मक टिप्पणी तथा घृणात्मक अभिव्यक्ति नगर्न आयोगले आग्रह गरेको छ ।
यसैबीच, निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आयोगले आह्वान गरेको छ । प्रचार अवधि अन्त्यसँगै मौन अवधि सुरु हुनेछ, त्यस अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न नपाइने व्यवस्था गरिएको छ ।