काठमाडौं । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक नै बहिष्कार गरेपछि विवाद उत्कर्षमा पुगेको हो । हिजोको बैठकमा चर्काचर्कीपछि प्रधानमन्त्री ओली आजको बैठकमा सहभागी नहुने विहानै हल्ला चलेको थियो ।
यद्यपी ओली निकट नेताहरुले उहाँ सहभागी हुने बताएका थिए । आज १ बजेकालागि बोलाइएको सचविालयको बैठक ओली पक्षको आग्रहपछी २ बजेका लागि सारिएको थियो । तर, २ बजेको बैठकमा पनि ओली सहभागी नभएपछि केही बेर बसेर ओली बाहेकका सचविालयका सदस्यले आगामी शनिवारसम्मका लागि बैठक सारेका हुन् ।
आजको बैठकले प्रधानमन्त्री ओलीलाई अनिवार्य उपस्थितीका लागि अनुरोध गर्दै ३ दिने अल्टिमेटम समेत दिएको छ । बैठकको औचित्य नै नरहेको बताउँदै आउनुभएका अध्यक्ष ओली हिजोको बैठकमा भने सहभागी हुनुभएको थियो । तर हिजोको बैठक समेत चर्काचर्कीमै सकिएको थियो ।
अध्यक्ष ओलीले नै बैठक बहिष्कार गरेपछि नेकपा भित्रको विवादले नयाँ मोड लिएको छ । अहिले सम्म सार्वजनिक रुपमा ओली पक्षका नेताहरुले कार्यकारी अध्यक्षको प्रस्ताव फिर्ता हुनुपर्ने र प्रचण्डले माफी माग्नुपर्ने बताउँदै आएका छन् । त्यो संभव नभएपछि र बहुमतका बलमा प्रचण्ड नेपाल पक्ष अघि बढेपछि भने अबको कदमका सन्दर्भमा ओली पक्ष आन्तरिक छलफलमा जुटेको छ ।
भोलीका लागि बोलाइएकोे स्थायी कमिटी बैठकपनि २१ गतेका लागि सारिएको छ । लामो समयदेखि आन्तरिक द्वन्द्वमा फसेकोे नेकपा विवाद झनझन पेचिलो बन्दै जाँदा पार्टी फुटतर्फ अग्रसर रहेको भन्दै चलेको हल्लामा बल पुगेको छ ।
अध्यक्ष नै छलफलमा सहभागी हुन नमानेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुहको रणनिती के होला त ? अंक गणितका आधारमा आफुलाई चेपुवामा पार्न खोजिएको महसुस गर्नुभएका र आफ्नो अडानमा टसमस नहुनुभएका प्रधानमन्त्री ओलीको अबको कदम के होला त ? विभिन्न आशंका सहितको चासो चौतर्फी बढेको छ ।